पुण्य लिने मण्डप एउटै, प्रसाद लिने टहरो बेग्लै
गुल्मी । सप्ताह महायज्ञको ईतिहास नयाँ । दलित समुदायका ब्यक्ति पण्डित, दर्शक दिर्घामा ब्राम्हण समेत भक्तजन । यस अर्थमा पनि नयाँ ईतिहास बन्यो । प्रशंग गुल्मीको मालिका गाउँपालिका–घमिर दयरामा चलिरहेको सप्ताह महायज्ञको हो । यस्तो सन्देशमुलक समाचार संपे्रषण संगै समाजलाई थप सचेत बनाउँदै समानताको अभियानमा थप सजग बनाउन त्यस ‘सन्देश’ पर्दा पछाडीका केहि कुराहरु पनि चिर्न गईरहेका छौं ।
त्यस महायज्ञ मण्डप भित्र पस्नासाथ जातिय समानताका पक्षधरहरुका लागि असाध्यै सन्तोष लिने र अन्यत्र पनि सन्देश छर्ने वातावरण छ । तर जव मुख्य वाचक पण्डित नन्दलाल बिश्वकर्मा र उप–वाचक जयराम चुँदराले भक्तजनका लागी केहि वेर विश्राम गर्ने समय दिन्छन् त्यस पछि भने मण्डप भित्रको त्यो सन्देश मण्डप भित्रै सिमित हुन पुग्छ ।
मण्डपबाट बाहिर निस्के पछि प्रसाद ग्रहण र चियापानका लागि एकथरी एकातिर अर्को थरी अर्कातिर लाग्छन् । यस्तो त्यहाँ मात्र होईन पछिल्लो चरण गैह्र दलितको पुजा–आजा र विवाह वर्तबन्धन लगायतका भोज भतेरमा विभेदको महशुस गर्न सकिन्न । उनिहरुले सहभोजको ब्यवस्था गरेका हुन्छन् । तर दलित समुदायले स्वतः दुई वटा भान्छा बनाएर विभेद आफैले निम्ताएको प्रष्ट देख्न सकिन्छ ।
त्यही दृश्य घमिरका कुलबहादुृर सुनारले आयोजना गरेको सप्ताह महायज्ञमा पनि देखियो । सुनार परिवारले स्वजातियलाई आफ्नो घर–गोठमा खान, चिया–नास्ता र प्रसाद वितरणको ब्यवस्था गरेका छन् । अन्य समुदायलाई घर देखि अलि पर टहरो बनाएर प्रसाद वितरण र चियापानको ब्यवस्था मिलाएका छन् । प्रसाद, वा चियापान पछि भने पुनः त्यही मण्डपमा आएर एकले अर्काको हात समातेर भजनमा झुमेको देखिन्छ ।
मण्डप भित्र भजनको सुर–ताल एउटै । भगवान प्रति आश्था, भक्ति–भजन र पुण्य मोहको कामना पनि सबैमा उत्तिकै । बाहिर प्रसाद स्वरुप वितरित स्याउ–सुन्तलाको स्वाद पनि एउटै । चोखो–पोलो बनाउँदा पानीका लागि धारा पनि एउटै । प्रसाद टक्राउँदा सत्कारको पारा पनि एउटै । एक अर्कोमा भै–परि आउँदा सघाउने अभिभारा पनि एउटै ।
मात्र फरक यति छ हिजो कै संस्कारलाई कसैले त्याग्न नसक्नु वा चाहेर पनि विवस हुनु । गजवको कुरा त के छ भने कसैका आँखा छल्न पाए विपरित लिङ्ग विच फोहरीको विल्ला भिराईएको त्यही दलित अति सफा लाग्नु र उसको नसा–नसा ,कण–कणमा समिश्रित हुनु ।
यसरी विभेद निम्ताउने पनि हामी नेपाली, समानता भित्राउने पनि हामी नेपाली । समृद्धि, न्यायपुर्ण समाज र सभ्यताको नारा घन्काउने पनि हामी नेपाली । तर ब्यवहारमा एकरुपता छैन । यसरी भोज–भतेरका कार्यक्रमहरु गर्नु पुर्व भोली सिङ्गो गाउँँलाई आउने आक्षेप बारे समिक्षा छैन ।
समिक्षा हुन्थ्यो भने गत स्थानिय तहको चुनाव जितेको खुशीयालीमा तत्कालिन नेकपा एमालेका ‘कमरेड’हरुले गुल्मी कै मुसिकोटमा भोज गर्ने स्थान एउटै , भोजन गर्ने प्रवेशद्धार भने बेग्ला बेग्लै बनाउँदैनथे । जहाँ कोही कमरेडलाई खसी त कोही कमरेडलाई पाडाको मासु हुँदैनथ्यो ।
समिक्षा गरिने नै भए गुल्मी कै सदरमुकाममा कट्टर भनिएका व्राम्हणका छोरा छोरीहरुको विवाहमा सहभोज र समानता हुँदा त्यसै सदरमुकामका एक जना दलित त्यो पनि दलित आन्दोलन हाँक्दै आएको दावी गर्ने नेताका छोराको विवाहमा एकातिर खसी र अर्कोतिर पाडाको भोज गरेर हुन सम्मको विभेद गरिदैनथ्यो ।
पछिल्लो पटक घमिरका सुनार परिवार त सर्वसाधारण र विल्कुल सोझो परिवार । उनिहरुको सोझो मनले जे देखे त्यही गरे । न त त्यहाँका अन्य समुदायले नै फरक भान्छा हुनु पर्छ भनेर दवाव दिए । तर आगामी दिनमा घमिर सहित जुनसुकै समाजका अगुवाहरुले भोज भतेरहरुमा विभेद देखा पर्ने कुनै पनि प्रकारका कुराहरुप्रति पहिल्यै ख्याल पुराउन जरुरी छ । ख्याल पुराउन सकेको भए रुपन्देहीमा केहि दिन अघि एक दलित परिवारको विवाहमा भयो भनिएको विभेद छताछुल्ल हुने थिएन ।