एनजिओ/आईएनजिओको मनलाग्दी काम

सरकारले किन लगाउँदै लगाम !

काठमाडौं । गैरसरकारी संस्थाले राजनीतिलाई पनि प्रभावमा पार्न थालेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । एनजिओ÷आईएनजिओ मिलेर संविधान बनाउनेदेखि लिएर सरकारका विभिन्न राजनीतिक कार्यक्रममा समेत सक्रियता देखाउने कामलाई वुद्धिजीवीहरुले राम्रो मानेका छैनन् ।
सरकारको आँखा छलेर गैससहरुले ६ अर्ब ३८ करोड रुपैयाँ खर्च गरेपनि त्यसबारे सरकारले सोधीखोजी गरेको छैन । अर्थमन्त्रालय, महिला बालबालिका र ज्येष्ठ नागरिक मन्त्रालय एवं गृहमन्त्रालयको क्षेत्राधिकारमा पर्ने त्यस्तो विषयबारे तीन वटै मन्त्रालय मौन देखिएका छन् ।
महालेखा परीक्षकको कार्यालयले २०७४/०७५ मा ६३ वटा संस्थाले चार अर्ब २३ करोड ५५ लाख ११ हजार खर्च गरेको जनाएको छ भने २०७२÷०७३ मा ४२ वटा संस्थाले ६१ करोड ८८ लाख ८९ हजार खर्च गरेको जनाएको छ । त्यो भन्दा पहिलेको वर्षमा एक अर्ब ५२ करोड ७२ लाख २० हजार रुपैयाँ खर्च गरेर १५८ वटा संस्थाले सरकारलाई चुनौती दिएका थिए ।
गाउँगाउँमा गएर हिन्दु तथा बौद्ध धर्मविरोधी प्रचार गर्ने र नेपालको परम्परागत धर्मसंस्कृतिले नेपालीहरु दरिद्र हुँदै गएको दुष्प्रचार गर्ने गरेको पाइएको छ । धर्म परिवर्तन गर्न संविधानले रोक लगाएपनि व्यवहारमा त्यस्तो देखिदैन । पश्चिम नेपालका कतिपय गाउँहरुमा त देवी देवताको नाममा रहेका गाउँका नाम बदलेर इशाईकरण गर्न थालिएको समाचार आएका छन् ।
एनजिओ÷आईएनजिओका यस्ता गतिविधिले राजनीतिलाई प्रभावित पार्ने मात्र होइन, धर्म संस्कृति र सामाजिक सद्भावलाई समेत विथोल्ने सम्भावना बढेर गएको विश्लेषकहरुको तर्क छ ।
यसैवीच सुर्खेतमा सञ्चालन भइरहेको हिमालयन पर्माकल्चर केन्द्र (एचपीसी) नाकम एनजिओमा श्रीमान÷श्रीमती अध्यक्ष र प्रशिक्षक, छोरा प्रबन्धक, भान्जी लेखापाल रहेको समाचारले एनजिओको उद्देश्य के रहेछ भन्ने प्रष्ट हुन्छ । गैरसरकारी संस्था (एनजीओ)हरूको विधानमा गैरनाफामूलक संस्था भनिए पनि व्यवहारमा अधिकांस एनजीओहरू ‘कमाउ धन्दा’ का लागि खोलिएको प्रष्ट हुन्छ ।
सुर्खेतको लेकबेसी नगरपालिका वडा नम्बर ५ नेटामा केन्द्रीय कार्यालय रहने गरी जिल्ला प्रशासन कार्यालय सुर्खेतमा २०६७ सालमा दर्ता भएको सो एनजिओ अध्यक्ष भुवन खड्काको परिवारका लागि जागिर र भत्ता खाने अखडा बनेको छ ।
दुर्गम कर्णालीमा शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षाजस्ता महत्त्वपूर्ण विषयलाई देखाएर दाताबाट ल्याएको करोडभन्दा बढी रकम खड्काले श्रीमती दिलमाया गुरुङ (होममाया भनेर चिनिने) लाई शुरूमा कार्यक्रम संयोजकको रूपमा जागिर खुवाएका थिए । अहिले प्रशिक्षकको भूमिकामा स्वास्थ्य संयोजकको नियुक्ति दिएको पाइएको छ ।
स्वास्थ्यसम्बन्धी केही जानकारी नभएकी उनले तीन घण्टा तालिम दिएबापत पाँच हजार भत्ता बुझ्ने गरेको सोही संस्थाका अन्य पदाधिकारीहरूले बताएका छन् । छोरा मिलन खड्का शिक्षा प्रबन्धकको रूपमा सोही संस्थामा कार्यरत रहेको र उनले मासिक २५ हजार तलब खाइरहेको बताइएको छ ।
त्यस्तै खड्काले भान्जी नन्दा खत्रीलाई लेखा प्रशासन हेर्ने गरी २४ हजार र अर्की भान्जी इन्द्रा बूढालाई १८ हजार तलब दिने गरी जागिर खुवाएको बताइएको छ ।
संस्थाबाट मासिक ४३ हजार तलब खाइरहेका अध्यक्ष खड्काले आफ्ना सबै आफन्तले प्रक्रियाबाटै जागिर खाएको दाबी गरेका छन् ।
सबै काम बोर्डकै निर्णयअनुसार भएको उनको जिकिर छ ।
चालू आर्थिक वर्षमा संस्थामा विभिन्न शीर्षकमा करीब एक करोड रूपैयाँ आएको उनले स्वीकारेका छन् । आगामी ३ वर्षका लागि ४ करोड आउने उनले बताएका छन् ।