नेकपामा जवजको झगडा, कुन पक्ष होला तगडा

काठमाडौं । तत्कालीन एमालेका महासचिव मदन भण्डारीको हत्या भएको २६ वर्ष पुगेको छ । उनको सम्झनामा तत्कालिन एमाले हालको नेकपाले हरेक वर्ष जेठ ३ गते विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको छ भने उनको नाममा विभिन्न कलेज, स्कुल, सडक छन् । उनको सिद्धान्त र विचारमा वौद्धिक र प्राज्ञिक अभ्यास भएपनि भण्डारीको मुल विचार पार्टीबाटै हराउन थालेकोमा एमाले पृष्ठभूमिका नेता, कार्यकर्ताहरू निरास बनेका छन् ।
अधिकांस नेताले उनको कार्यपद्धति, कार्यशैली, विचार र सिद्धान्त हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । अहिले नेकपाले पाएको जनमतको जग नै मदन भण्डारीले ल्याएको ‘जनताको वहुदलीय जनवाद (जवज)’ नै हो भन्ने कुरा नेतृत्वले विर्सिदै गएका छन् । अधिकांस नेता, कार्यकर्ताले नेकपाको वैचारिक धरातल जवज नै हुनुपर्ने धारणा राखेका छन् ।
मदन भण्डारीसँग २०३४ सालदेखि सहयात्री भएर काम गरेका मुकुन्द न्यौपानेले मदन भण्डारीलाई विर्सियो भने कम्युनिष्ट आन्दोलनले बाटो विर्सिएको मानिन्छ भनेका छन् । शुरुमा सर्वहारावर्गको अधिनायकवाद भन्दै आएका कम्युनिष्टहरूलाई २०४६ सालपछि मदन भण्डारीले वहुदलीय प्रतिस्पर्धामा जानुपर्ने नीति प्रस्तुत गर्दै सो नीतिको वकालत गरेका थिए ।
प्रारम्भमा मोरङ, सुनसरी, धनुकटा, तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लामा पार्टीको काममा सक्रिय रहेका भण्डारीले युवा अवस्थादेखि नै पार्टीभित्र वैचारिक धारलाई बलियो बनाउने प्रयास गरेका थिए । २०४६ सालमा वाममोर्चा र नेपाली कांग्रेस एकीकृत भएर आन्दोलनमा लागेपछि मनमोहन अधिकारीले नेतृत्व गरेको माक्र्सवादी पार्टी र मदन भण्डारी रहेको माले मिलेर एमाले बनेको थियो ।
दुई फरक विचारका कम्युनिष्ट शक्तिहरूलाई एकीकृत गर्न पनि भण्डारीले भूमिका खेलेका थिए । भण्डारीकै निधन भएको दिन पारेर २०७५ साल जेठ ३ गते एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ ।
मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्ष पूरा भएको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेताहरूबीच जवजका विषयमा वैचारिक विवाद देखिएको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले जवजलाई रूपान्तरण गर्दै लैजानुपर्ने तर्क गरेका छन् भने ईश्वर पोखरेललगायतका दोस्रो तहका नेताहरूले जबजलाई जस्ताको त्यस्तै लैजानुपर्ने बताएका छन् ।
एकतालाई पूर्णता दिइएको घोषणा हुँदाहुँदै सार्वजनिक मञ्चमै नेताहरूबीच अबको विचार के हुने भनेर बहस समेत हुन थालेपछि पार्टी एकता सार्थक हुनेमा आशंका उव्जिएको छ ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले मदन भण्डारीका विचारलाई पार्टीले छाड्न नमिल्ने तर परिस्कृत गर्दै अघि बढ्न सकिने बताएका छन् । भण्डारीले अगाडि सारेका विचार र सोचकै कारण आज बहुमतका साथ वर्तमान ठाउँमा रहेको स्वीकार गरे पनि ओलीले भण्डारीको विचारको धाराबाट पार्टी अगाडि बढ्ने बताएका छन् । उनले भण्डारीले अगाडि सारेको विचारलाई मन्त्र र शास्त्रका रूपमा नभई मार्गदर्शकका रूपमा लिनुपर्ने वताएर समयानुकूल ढङ्गले सिर्जनात्मक प्रयोग गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
अर्का अध्यक्ष दाहालले भने जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादलाई नयाँ सश्लेषण गरी समाजवादतर्फ उन्मुख हुन सकिने बताएका छन् । अध्यक्ष दाहालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विकास भएका घटनाक्रम तथा अनुभवका आधारमा कम्युनिष्ट आन्दोलनलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने बताएर जवजलाई मात्र लिएर हिड्न नसकिने संकेत गरेका छन् ।
अन्तर्राष्ट्रिय रूपमा कम्युनिस्ट विचार संकटमा परेको अवस्थामा मदन भण्डारीले तत्कालीन समाजमा वर्ग संघषको नयाँ व्याख्या र नयाँ विचारको प्रयोग गरेका कारण उनी लोकप्रिय भएको भन्दै अध्यक्ष दाहालले नयाँ परस्थितिअिनुसार समाजको आवश्यकतालाई सम्बोधन गर्न सक्ने राजनीतिक रणनीति विकास गर्न सकेमा मात्र आफूहरू स्थापित हुन सकिने तर्क गरेका छन् ।
उता, सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले मदन भण्डारीको नेतृत्वमा प्रतिपादित जवजको रक्षार्थ कार्यकर्ताबीच जाने उद्घोष गरेका छन् । जेठ १ गते युवा संघ नेपालले आयोजना गरेको स्थापना दिवसको अवसरमा बोल्दै पोखरेलले नेकपाको सिद्धान्त जवज नै हुनुपर्ने जिकिर गरेका छन् । अध्यक्ष दाहालसँग युवासंघको कार्यक्रममै बहस समेत गरेका पोखरेलले अव पार्टीमा जवज स्थापित गर्न एक्लै भएपनि लडाइ गर्ने र देशभरका कार्यकर्ताबीच जाने घोषणा गरेका छन् ।
नेता पोखरेलले बिचार मिल्नेसँग सहकार्य हुने भन्दै आफू कुनै पनि नेतालाई धुरी मानेर चल्ने मानिस नभएको भन्दै नेतृत्वले जे भन्यो उही सही भन्ने नेता आफू नभएको प्रष्ट पारेका छन् ।
नेता पोखरेलले पार्टीभित्र आफ्नै छुट्टै गुट स्थापनाका लागि जवजको तुरुप हानेको केही नेताले बताएका छन् । एकताका क्रममा असन्तुष्ट बनेका नेताहरूलाई समेटेर मजबुत गुट बनाउने र नेतृत्वमा पुग्ने दाउमा रहेका पोखरेलले जबजलाई हतियार बनाएका हुन् ।
पार्टी एकताप्रति शुरुदेखि नै असन्तुष्ट रहेका पोखरेलले बेलाबेलामा प्रचण्डप्रति शव्दवाण प्रहार गर्दै आएका छन् । पार्टी एकता अघि निर्वाचित महासचिव रहेका पोखरेललाई एकता पछि हटाएर विष्णु पौडेललाई महासचिव बनाइएपछि उनी अध्यक्षद्वयसँग निकै असन्तुष्ट बनेका छन् ।
आगामी एकता महाधिवेशनमा तत्कालिन माओवादीबाट पुष्पकमल दाहाल र तत्कालिन एमालेका तर्फबाट माधव नेपाल अध्यक्षका दावेदार हुने प्रष्ट देखिन्छ । दुई नेताहरूबीचको प्रतिस्पर्धाको मौकामा आफूले चौका हान्न सकिने दाउमा पोखरेल छन् । जसकारण उनी आफ्नो गुट स्थापित गर्न खोजिरहेका छन् । वर्तमान अध्यक्ष ओलीले पनि जवजको लाइन समातेकै कारण अध्यक्ष बन्न सफल भएका थिए भने दुई पटक प्रधानमन्त्री बनेका छन् ।
वहुदलीय राजनीतिमा आएपछि २०४८ सालको चुनावमा एमालेले भाग लिएको थियो । त्यो भन्दा पहिले २०१५ सालको चुनावमा कम्युनिष्ट पार्टीले चार सिट मात्र प्राप्त गरेको थियो । पछिल्लो पटक भएको चुनावमा कम्युनिष्टले झण्डै दुई तिहाइ नजिक जित हासिल गरेको छ । तसर्थ संसदीय प्रणालीमा वाम शक्तिलाई राम्ररी उभ्याउने श्रेय मदन भण्डारीलाई नै जाने राजनीतिक विश्लेषकहरूको तर्क छ ।
यसैबीच नेकपाका जनवर्गीय संगठनको नेतृत्व र जिम्मेवारी दिने काम टुंगिएको छ । सचिवालय वैठकले पेशागत महासंघदेखि लिएर मानवअधिकार तथा सामाजिक अभियान, प्रेस संगठन र वुद्धिजीवी संगठन एवं जनसांस्कृतिक महासंघ, दलितलगायतका संगठनमा एमाले र माओवादी पृष्ठभूमिका नेताहरूबाट भागवण्डाका आधारमा नेतृत्व सुम्पिएको छ ।
दुई पार्टी एकीकृत भएको वर्ष दिनमै भुुसको आगो झै भित्रभित्रै असन्तुष्टि देखिएको छ । सिके राउतसँग फागुन २४ गते ११ वुँदे सम्झौता गरेपछि प्रम केपी ओली निकट रहेका कैयन नेताले सो सहमति गलत भएको टिप्पणी गरेका थिए भने प्रदेशको पदाधिकारी चयनमा समेत माधव नेपालले गम्भीर असहमति जनाएका थिए ।
यसअघि नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयको व्यवहारप्रति असन्तुष्टि जनाउँदै पार्टीको प्रवक्ताबाट राजीनामा दिएका थिए । जुन अस्वीकृत भयो । २०७५ जेठ ३ गते एमाले र माओवादीबीच एकता भएपछि केही महिनामै एकता प्रक्रिया टुंगिन्छ भनिए पनि एक वर्ष लागेको छ ।
२२ वटा जनसंगठन मध्ये पूर्व एमालेले १६ र पूर्व माओवादीले ६ वटा पाएको छ । १५ जनवर्गीय संगठनका संयोजकमध्ये ओली पक्षका ९ जना, माधव नेपाल पक्षका ५ जना छन् भने बामदेव गौतम आफैँ किसान महासंघको संयोजक छन् । पूर्व माओवादीतिरका ६ जना संयोजकमध्ये रामबहादुर थापा बादल पक्षले आधा हिस्सा पाएको छ ।
२२ जनवर्गीय संगठनको एकीकरण सम्पन्न भएपछि करिब ३५ सय कार्यकर्ताले जिम्मेवारी पाएका छन् । मधेसी संगठनको नेतृत्व भने टुंगो लाग्न बाँकी छ ।
पुच्छर हटाएर जनसंगठनको नयाँ नाम, तोकियो केन्द्रीय कमिटी संख्या साबिक एमाले र माओवादीको जनसंगठन एकीकरणसँगै केन्द्रीय सचिवालयले नयाँ संगठनको नाम पनि अनुमोदन गरेको छ । जनसंगठनहरूको पूर्वनामको पुच्छर हटाएर अधिकांशको नयाँ बनाइएको छ ।
अझै पोलिटव्यूरो, केन्द्रीय विभाग, राष्ट्रिय परिषद्, केन्द्रीय आयोगहरू, सल्लाहकार समिति र जेष्ठ कम्युनिष्ट मञ्च, प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन क्षेत्र कमिटी, उपत्यका विशेष प्रदेश र जिल्ला कमिटी, नगर ÷गाउँ कमिटी, वडा कमिटी र प्रारम्भिक कमिटी गठन गर्न बाँकी नै छ । यस्तो गठन पूर्ण नभएसम्म विवादको सम्भावना रहिरहन्छ भने गठन विधिले पूर्णता पाएपनि मानसिक रुपले दुवै पक्ष पूर्ण सन्तुष्ट हुने सम्भावना न्यून देखिन्छ ।

२२ जनवर्गीय संगठनको पदाधिकारी÷सदस्य संख्या, संयोजक र सहसंयोजक
–नेपाल मुस्लिम संगठन, २५१, संयोजक सराहज अहमद, सहसंयोजक अटहर हुसेन
–प्रेस संगठन नेपाल, १५१ संयोजक महेश्वर दाहाल, सहसंयोजक गणेश बस्नेत
–अपाङगता संगठन नेपाल, ६९ संयोजक इन्द्रमाया गुरुङ, सहसंयोजक रामप्रसाद ढुङ्गाना
–खेलकुद महासंघ, नेपाल संयोजक पुरुपोतमा पौडेल, सहसंयोजक शिव कोइराला
६.नेपाल दलित मुक्ति संगठन २५१ संयोजक तिलक परियार, सहसंयोजक वोम ब. विश्वकर्मा
–जनसांस्कृतिक महासंघ नेपाल २५१ संयोजक खगेन्द्र राई, सहसंयोजक सूर्य पौडेल
–नेपाल उद्योग व्यवसायी महासंघ, १५१ संयोजक लक्ष्मीदास मानन्धर, सहसंयोजक श्याम पाठक
–नेपाल बुद्धिजिबी संगठन, १६१ संयोजक दिनेशचन्द्र देवकोटा, सहसंयोजक कृष्ण केसी
– मानवअधिकार तथा सामाजिक अभियान ४५, संयोजक मिनबहादुर शाही, सहसंयोजक भुपेन पोखरेल
–पेशागत महासंघ, १११ संयोजक विश्वनाथ प्याकुरेल, सहसंयोजक दयाराम बस्याल
–भुमिहीन सुकुम्वासी संगठन, ९९, संयोजक रामप्रित पासवान, सहसंयोजक पदम देवकोटा
–अनेरास्ववियु २५१, संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ
–युवासंघ २५१ संयोजक रामप्रसाद सापकोटा, सहसंयोजक रमेश पौडेल
–आदिवासी जनजाती महासंघ, २५१ संयोजक सुरेश आलेमगर, सहसंयोजक शेरबहादुर तामाङ
–भुतपुर्व सैनिक तथा प्रहरी संगटन २५१ संयोजक धनबहादुर चन्द, सहसंयोजक जीवन बुढा
–टे«ड युनयिन महासंघ २५१ संयोजक विनोद श्रेष्ट, सहसंयोजक जगत सिंखडा
–अखिल नेपाल महिला संघ २५१ संयोजक अमृता थापा, सहसंयोजक सीता पौडेल
–अखिल नेपाल किसान महासंघ २५१ संयोजक बामवेद गौतम, सहसंयोजक चित्र बहादुर श्रेष्ठ
–प्रवासी नेपाली एकता मञ्च भारत १९९ संयोजक लोकनाथ भण्डारी, सहसंयोजक ईश्वरी भण्डारी
यसअघि नेपाल कानुन व्यवसायी, निर्माण व्यवसायी र इन्जिनियरहरूको संगठन सार्वजनिक भइसकेको छ ।