गणतन्त्र दिवस धुमधामका साथ मनाइदै
काठमाडौं । सरकारले यस वर्षको गणतन्त्र दिवसलाई भव्यतापूर्वक मनाउने भएको छ । दिवसका लागि विभिन्न तयारी थालिएको बताइएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताको बलिदानबाट प्राप्त भएको गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्ने गरी कार्यक्रम तय गर्नुपर्ने बताए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित प्रचारप्रसार उपसमितिको बैठकमा उपसमितिका संयोजक समेत रहेका मन्त्री बाँस्कोटाले यही जेठ १५ मा मनाइने ११ औँ गणतन्त्र दिवसका बारेमा जानकारी दिएका हुन् ।
उनले गणतन्त्रका लागि गरिएका संघर्षहरु र गणतन्त्र प्राप्तिपछि जनताले हासिल गरेका उपलब्धिलाई जोड दिने गरी आम जनता माझ कार्यक्रम लैजान आग्रह गरे ।
सो अवसरका मूल समारोह समितिले निर्धारण गरेका कार्यक्रमका अतिरिक्त थप आकर्षक र शैक्षिक महत्वका कार्यक्रम तय गरिएको थियो ।
गणतन्त्र दिवसलाई लक्षित गरी नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको सहयोगमा रेडियो नेपाल, नेपाल टेलिभिजन, सामुदायिक सूचना नेटवर्क र नेपाल विज्ञापन सङ्घ लगायतले विशेष कार्यक्रम निर्माण गरी प्रचारप्रसार गर्नेछन् ।
मन्त्री बाँस्कोटाको संयोजकत्वमा गठित प्रचारप्रसार उपसमितिमा राष्ट्रिय समाचार समिति (रासस), नेपाल टेलिभिजन, रेडियो नेपाल, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका निकायका प्रमुख सदस्य छन् ।