चीन, भारत र अमेरिकाको चेपुवामा नेपाल

काठमाडौं । चीन र भारतबीच अवस्थित नेपाल जटिल भूराजनीति र रणनीतिक चेपुवामा पर्ने सम्भावना बढ्दै गएको छ । उदीयमान शक्तिहरुबीच बढेको प्रतिस्पर्धाले नेपाल चीन, भारत, अमेरिका र युरोपको प्रयोगशाला बन्दै गएको कूटनीतिज्ञहरुको तर्क छ ।
अमेरिकाले इन्डो–प्यासिफिक रणनीति अन्तर्गत नेपालसँग रक्षा क्षेत्रमा सहकार्य बढाउँदै लैजाने समाचारले तरंग ल्याएको छ । अमेरिकी रक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको इन्डो–प्यासिफिक रणनीति सम्वन्धि प्रतिवेदनमा त्यस्तो उल्लेख छ भने चीनले यसबारे कुनै न कुनै रुपमा आफ्नो प्रतिक्रिया जनाउन सक्ने सम्भावना देखिन्छ ।
रिपोर्टमा अमेरिकी रक्षा मन्त्रालयले नेपालसँग आफ्नो सैन्य सम्वन्ध विस्तार गर्न चाहेको उल्लेख गरेको छ । विपत व्यवस्थापन, सैन्य व्यवसायीकरण, प्रतिआतंकवाद, शान्ति स्थापना लगायतको क्षेत्रमा नेपालसँग अमेरिकाले सहकार्य बढाउन चाहेको देखिन्छ ।
यस्तो रणनीतिलाई चीनको बीआरआईको काउन्टरको रुपमा पनि धेरैले विश्लेषण गर्न थालेका छन् । अमेरिकी प्रस्ताव जस्तै चीनले अमेरिकालाई काउन्टर दिने कुनै प्रस्ताव ल्याएको खण्डमा त्यसले नेपालको राष्ट्रिय सुरक्षा नीतिमा समेत प्रश्न थपिन सक्ने विश्लेषकहरुको तर्क छ ।
चीन र अमेरिकाबीच कूटनीति, अर्थतन्त्र र राजनीतिक स्वार्थमा समेत बढेको तनावले नेपाललाई समेत प्रभावित पार्ने देखिन्छ । चीनका कतिपय विश्लेषकहरुले अमेरिकाले जतिसुकै जोरी खोजेपनि चीनले त्यसको प्रतिरोध गर्ने चुनौती दिएका छन् ।
चीनका विद्वान साङ जिन वेईले भने झै चीन र अमेरिकाबीचको सम्वन्ध तत्काल सुमधुर हुने सम्भावना देखिदैन । चीन र भारतका वरिपरी रहेका देशहरु समेत दुई शक्तिको तनावबाट प्रभावित हुन सक्ने धेरैको आँकलन छ ।
सन् १९७० को दशकमा लिओ ई. रोजले लेखेको ‘नेपाल ः स्ट्राटेजी फर सर्भाइवल’ पुस्तकमा नेपाल, चीन र भारतको द्वन्द्वमा फस्न सक्ने विश्लेषण गरिएको छ । दुई ठूला शक्तिका बीचमा अवस्थित नेपालले पृथक किसिमको राजनीति र असंलग्न परराष्ट्र नीति अंगिकार गरेर अघि बढे मात्र सुरक्षित हुन सक्छ भन्ने सदासयले राजा महेन्द्रले सोही अनुसार विश्व सम्वन्ध बढाएका थिए भने राजा वीरेन्द्रले समेत पिताको पदचिन्हमा कूटनीति सञ्चालन गरेको पाइन्छ । तर पछिल्ला वर्षहरुमा राष्ट्रिय मूलनीति नै अल्मलिँदा राष्ट्रिय राजनीति र राष्ट्रिय सुरक्षामा समेत चुनौती थपिन थालेको कूटनीति र राजनीतिज्ञहरुको तर्क छ ।
विचारको द्वन्द्वमा नेपाली राजनीति मात्रै वहकिएको छैन, आउँदा दिनहरुमा यसले हरेक क्षेत्रलाई प्रभावित पार्न सक्ने हुँदा अन्तर्राष्ट्रिय रणमैदान बन्न सक्ने समेत विश्लेषण गर्न थालिएको छ ।
चीन र भारत वा चीन र अमेरिकाबीच तनाव हुँदा अन्तर्राष्ट्रिय वार्ताकारहरुले सहजकर्ताको भूमिका खेल्न खोज्छन् । तर नेपालका विभिन्न राजनीतिक शक्ति र कूटनीतिक वृत्तका व्यक्तिहरु विभिन्न देशका स्वार्थमा विभाजित भएको हुँदा नेपालको राष्ट्रिय हितको वकालत गर्ने समूह खै भन्ने प्रश्न उठिरहेको छ ।
अमेरिका र चीनको नेपालमा बढेको चासोले स्वतन्त्र तिव्वत आन्दोलन देखि लिएर नेपालको आन्तरिक सुरक्षामा समेत धक्का पुर्याउन सक्ने धेरैको विश्लेषण छ । हिमाली क्षेत्रमा अमेरिका सक्रिय हुदै गएको र नेपालको तराईमा चीनले सक्रियता बढाउँदा नेपालमा वहुराष्ट्रिय चासो बढ्ने देखिएको छ । चीन, भारत, अमेरिका र युरोपेली युनियनका निकट रहेका विभिन्न संघसंस्था र वुद्धिजीवी समेत उनीहरुका सुविधा लिएर नेपाली राष्ट्रिय सुरक्षाका विरुद्ध सक्रिय हुन थालेको कतिपयको विश्लेषण छ ।
वितेका एक वर्षमा पश्चिमा मुलुकका केही महत्वपूर्ण व्यक्तिले नेपालमा गरेको भ्रमण र चीनले पटकपटक देखाएको प्रतिक्रिया असामान्य जस्तो लाग्छ । खासगरी गणतन्त्र स्थापनापछि नेपालमा सुरक्षाको अवस्था कमजोर भएको चीनको विश्लेषण छ । यसले गर्दा चीन, अमेरिका र भारत जस्ता मुलुकले आफ्नो अनुकुलका राजनीति शक्ति र कर्मचारीतन्त्रलाई प्रभावित तुल्याएर आफ्नो स्वार्थ पूरा गर्न सक्ने देखिएको छ ।