सरकार छोड्न यादवलाई दवाव
काठमार्डाैं । उपेन्द्र यादव र डा. बाबुराम भट्राई नेतृत्वको समाजवादी पाटी नेपाल सरकार परित्याग गर्ने मनस्थितिमा पुगेको छ । समाजवादी पार्टी सरकारबाट अलग्गिएपनि सरकारलाई धेरै ठूलो धक्का नपुग्ने तर राजनीतिक वृत्तमा केही तरंग भने पक्कै ल्याउने छ ।
२०७५ साल जेठ १४ गते सरकारसँग दुई वुँदे सहमति गरेर उपेन्द्र यादवको नेतृत्वमा रहेको तत्कालिन संघीय समाजवादी फोरम सरकारमा गएको थियो । बाबुराम भटट्राईको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टीसँग एकीकृत भएपछि दुई पार्टीले नाम परिवर्तन गरेर समाजवादी पार्टी नेपाल गठन गरेका हुन् ।
पछिल्ला दिनहरुमा बाबुराम भटट्राईले उपेन्द्र यादवलाई सरकार परित्याग गर्न दवाव दिदै आएका छन् । कार्यकर्ताहरुले समेत पार्टी सरकारमा बसेर संविधान संशोधन गराउन नसकेको आरोप लगाइरहेका छन् भने कतिपय केन्द्रीय नेताहरुले समेत प्रधानमन्त्रीले आफ्नो पार्टीका राजनीतिक मागहरुलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाइरहेका छन् । सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारले आफ्नो पार्टीको माग सम्वोधन नगरेको हुँदा पार्टीको नीति र सिद्धान्त बचाउन सरकार परित्याग गर्ने संकेत गरेका छन् ।
नेकपा र समाजवादी पार्टीबीच भएको सहमति अनुसार कार्यदल बनाएर अघि बढ्नुपर्ने केही नेताहरुको सुझाव छ । उनीहरु तत्काल सरकार त्याग्न नहुने पनि बताइरहेका छन् । तर सरकार परित्याग गर्नुपर्छ भन्ने आवाज बढी भएकाले उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई अप्ठ्यारो परेको छ । उनी सरकार त्यागि हाल्ने मनस्थितिमा देखिदैनन् । तर आफ्नो भागको स्वास्थ्य मन्त्रालय आफूले चाहे जसरी चलाउन नपाएकोप्रति यादवको गुनासो रहेको उनी निकटस्थले बताएका छन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालको जोडबलमा सरकारमा छिरेका उपप्रधानमन्त्री यादवले सबैभन्दा बढी बजेट भएको स्वास्थ्य र धेरै कार्यभारयुक्त शहरी विकास मन्त्रालय पाए पनि रमेर काम गरेका छैनन् । दुवै मन्त्रालयमा उनको उपस्थिति एकदमै न्युन हुने गरेको छ । प्रशासनिक कामका लागि दुवै मन्त्रालय राज्यमन्त्रीलाई जिम्मा लगाई यादव धेरैजसो पार्टीका गतिविधिमा व्यस्त हुने गरेका छन् ।
पार्टीपंक्ति सरकारको कार्यसम्पादनबाट असन्तुष्ट रहेको र अब सरकार छाड्न पनि तयार हुनुपर्ने नेताहरूले बताउन थालेका छन् । पार्टी महासचिव रामसहाय यादवले पार्टीको प्रमुख असन्तुष्टि र सरोकार संविधान संसोधनमा रहेको, त्यसैका लागि सरकारमा गएपनि प्रगति नभएको बताएका छन् ।
चीन र अमेरिका जस्ता शक्तिहरुले सिंहदरबारभित्रै खेलिरहेका छन् भन्ने आरोप लागिरहेका बेला वर्तमान सरकारलाई अप्ठ्यारोमा पार्ने भारत र पश्चिमी राष्ट्रका समर्थक कतिपय नेताहरुले प्रधानमन्त्री केपी ओलीलाई विभिन्न माध्यमबाट दवाव दिन खोजिरहेका छन् ।
उपेन्द्र यादव र बाबुराम भटट्राईले पनि यही रणनीतिअनुसार समाजवादी पार्टीलाई सरकारबाट अलग गराउने योजना बनाएको हुन सक्छ भन्ने राजनीतिक विश्लेषकहरुको तर्क छ । विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नहुनु मात्र समाजवादी पार्टीको असन्तुष्टिको प्रधान कारण नभएको र यसका पछाडि अन्तर्राष्ट्रिय दवाव समेत रहेको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ ।