राप्रपा पृथ्वीनारायण, महेन्द्र र वीपी पथमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राप्रपाले पृथ्वीनारायण शाहको दिव्य उपदेश, राजा महेन्द्रको राष्ट्रवाद र वीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिलाई पार्टीको मार्गदर्शन सिद्धान्तका रुपमा अंगीकार गरेको थापाले बताएका छन् ।
अध्यक्ष थापाले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको र सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस निस्प्रभावि भएको आरोप लगाएका छन् । शुक्रबारबाट सुुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा अध्यक्ष कमल थापाले पेश गरेको राजनीतिक कार्यपत्रमा देश डरलाग्दो संकटको चक्रव्युहमा परेको विश्लेषण गरेका छन् । प्रजातन्त्रको लागि संघर्ष गरेका, जेलनेल भोगेका तथा जनअधिकार रक्षा गर्ने प्रतिबद्धता बोकेर सरकारमा गएका तथा प्रतिपक्षमा रहेका दलहरुको अकर्मण्यता, गलत नीति, भ्रष्ट प्रवृत्ति र अन्तरविरोधको कारणबाट लोकतन्त्रको भविष्यमाथि कालो बादल मडारिन थालेको भन्दै थापाले चिन्ता व्यक्त गरेका छन् ।
नेकपाले संसदीय शक्तिलाई देश र जनताको बृहत्तर हितमा प्रयोग गर्नुको साटो सत्ता, शक्ति र राज्यस्रोत कब्जा गर्ने आधारभूमिको रुपमा प्रयोग गर्न थालेको भन्दै थापाले सरकारको चर्को आलोचना गरेका छन् ।
संवैधानिक निकाय, प्रशासन, शैक्षिक संस्था, कुटनीतिक नियोग र सुरक्षा संयन्त्रमा समेत पार्टीप्रति आस्था राख्ने व्यक्तिहरु छानीछानी राखिएको, न्यायपालिकालाई समेत पार्टीकरण गर्ने प्रयास भइरहेको आरोप लगाउँदै थापाले भ्रष्टाचारको माध्यमबाट अकुत सम्पति जोड्ने काम अनवरत रुपमा जारी रहेको बताएका छन् ।
अनुसन्धान र कारवाही गर्ने निकायलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत केन्द्रिकृत गरिएको, प्रेसलाई नियन्त्रण गर्ने प्रयास थालिएको, मानव अधिकार आयोगलाई पंगु बनाउन खोजिएको तथा सेनापतिलाई ‘वाईपास’ गरेर सेना परिचालन गर्ने अधिकार लिन खोजिनुले सरकार सर्वसत्तावादको दिशातर्फ उन्मुख हुन खोजेको स्पष्ट हुँदा पनि खबरदारी र नियन्त्रण गर्न प्रमुख प्रतिपक्षी दल निस्प्रभावि हुनु दुर्भाग्यपूर्ण भएको थापाको टिप्पणी छ ।
जनता वैकल्पिक शक्तिको खोजीमा रहेको र त्यस्तो शक्ति राप्रपा बन्न सक्ने विश्लेषण गर्दै थापाले सवै राप्रपाहरु एकत्रित हुनुपर्ने बताएका छन् । अन्यथा जनताले राप्रपालाई विश्वास गर्न नसक्ने पनि अध्यक्ष थापाले स्वीकारेका छन् । विगतका गतिविधि तथा बारम्बार टुटफुट भैरहने चरित्रका कारण राप्रपाप्रति जनता पूर्णतः विश्वस्त हुन नसकेको उनले बताएका छन् ।
अध्यक्ष थापाले प्रतिवेदनमा वर्तमान परिस्थिति, माओवादीको पुनरोत्थान, गरिवी र बेरोजारीको अवस्थामा, अर्थतन्त्रको कमजोर धरातल, लोकतन्त्रको आवरणको लुटतन्त्र, धर्म संस्कृतिमाथि योजनावद्ध आक्रमण, राष्ट्र विखण्डनको खतरासहितका उप शीर्षकहरुमा पार्टीको धारणा अघि सारेका छन् ।
कमीकमजोरी र भ्रमहरुका बाबजुद समकालिन नेपालको राजनीतिमा कांग्रेस र कम्युनिष्टको विकल्प बन्न सक्ने क्षमता र आधार राप्रपामा मात्र भएको दावी गरेका उनले अन्य राजनीतिक दलहरु भन्दा फरक विचार र राष्ट्र निर्माणको वैकल्पिक मार्गचित्र बोकेकाले पनि कांग्रेस–कम्युनिष्टको विकल्प बन्ने तर्क गरेका छन् । तर, पार्टीको कमजोर संगठन, साधन–श्रोतको न्युनता, निर्वाचनमा निराशाजनक पराजय तथा पार्टी विभाजनको रोगले गर्दा राप्रपाले आफूलाई वैकल्पिक शक्तिको रुपमा सशक्त ढंगले प्रस्तुत गर्न नसकेको थापाको स्वीकारोक्ति छ ।
२०७६ लाई ‘संगठन निर्माण वर्ष’ को रुपमा मनाउने योजना बनाएको राप्रपाले शुक्रबारदेखि दुई दिन विस्तारित बैठक आयोजना गरेको थियो । बैठकमा पार्टीका पदाधिकारी, कार्य सम्पादन समिति सदस्य, केन्द्रीय समिति सदस्य, प्रदेश कार्य समितिका अध्यक्ष, ७७ जिल्लाका अध्यक्षहरु र भातृ संगठनका अध्यक्ष सहभागी थिए ।