पौडेलको मृत्युले गृहमन्त्री माथि प्रश्न
प्रहरीका विवादास्पद इन्काउन्टर
काठमाडौं । नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी सर्लाहीका इन्चार्ज कुमार पौडेल लालबन्दी नगरपालिका १ मा लखन्ती खोलामा बिहीबार दिउँसो मारिएका छन् ।
प्रहरीमाथि इन्काउन्टरका नामका गैरन्यायिक हत्या गरेको आरोप लागेको छ । बाटोमा हिडिरहेको मानिसलाई मार्नु गलत भएको भन्दै संसदमा समेत कुरा उठेको छ ।
संसदको राज्य व्यवस्था समितिले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको घटनाको छानविन गरेर एक साताभित्र प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
सोमबार गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी प्रमुख सर्वेन्द्र खनालसँग घटनाबारे जानकारी लिएको समितिले एक साताभित्र सत्य तथ्य प्रतिवेदन बुझाउन निर्देशन दिएको हो ।
प्रहरीलाई आक्रमण गरेपछि जवाफी कारबाहीको क्रममा पौडेल मारिएको दाबी सरकारी पक्षको रहे पनि सांसदहरुले त्यसमा शंका व्यक्त गर्दै सत्य तथ्य छानविनको माग गरेका थिए ।
गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको बताएका छन् । विप्लव समूहलाई समाप्त पार्न सरकारले कसैलाई निर्देशन नदिएको भन्दै उनले पौडेलको मृत्युबारे छानविन गर्ने पनि बताएका छन् ।
मन्त्री थापाले भने, ‘अनटेस्ट मोटरसाइकल सहितका दुईवटा मोटरसाइकलमा आइरहेका चार जना व्यक्तिहरुले प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल छाडी प्रहरीलाई लक्षित गरी आफूहरुसँग रहेको हतियारबाट फायर गरेकोले प्रहरी टोलीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको र घटनास्थलबाट बरामद परिचयपत्रको आधारमा निज विप्लव समूहको सर्लाही जिल्ला इञ्चार्ज वागमती नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४७ को कुमार पौडेल भएको खुल्न आएको छ ।’
मन्त्री थापाका अनुसार अन्य तीन जना मुठभेडको क्रममा जंगलतर्फ भागेको र त्यसरी फायर हुनेमध्ये एक जनालाई गोली लागेको आशंका गरिएको छ । फरार व्यक्तिहरुको प्रहरीद्वारा खोजीकार्य जारी रहेको उनले जानकारी दिए ।
मुठभेडमा मारिएको भनिएका कुमार पौडेलको हात ६-७ ठाउँमा कसरी भाँचियो ? भनेर सांसदहरुले प्रश्न उठाएका छन् ।
नेकपाका नेता एवं सांसद जनार्दन शर्माले विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको घटना अस्वभाविक भएको बताएका छन् ।
सोमबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई प्रश्न गर्दै विगतमा झै मुठभेडका नाममा हत्या गर्ने शैलीको झल्को आएको बताए ।
पूर्वगृहमन्त्री समेत रहेका शर्माले हिजोका दिनका आफ्ना साथीहरु धनमाया लगायतको मुठभेडको नाममा हत्या भएको घटनाको स्मरण गर्दै प्रश्न गरे, ‘के हामी फेरि त्यही घटनालाई दोहोर्यान चाहन्छौँ ?
गृहमन्त्री रामबहादुर थापाले विप्लवले चार कम्पनी सेना बनाएको बताएको केही दिन नवित्दै पौडेल मारिएको घटनाले प्रहरीले कानूनी बाटो त्यागेर गैरन्यायिक हत्या गरेको आरोप लागेको हो । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी सहित सत्तापक्षकै सांसदले नक्कली भिडन्तको आशङ्का व्यक्त गर्दै गृहमन्त्रीको जवाफ माग गरेका छन् । विप्लव समूहसँग प्रतिशोध लिदै गृहमन्त्रीले प्रहरीलाई इन्काउन्टर गर्न प्रोत्साहन गरेको आरोप समेत लागेको छ । तर प्रहरी प्रवक्ता विश्वराज पोखरेलले प्रहरीले शक्तिको दुरुपयोग नगरेको दावी गरेका छन् । नेपाली कांग्रेसकी सांसद मिना पाण्डेले त प्रहरीले पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेको ठहरमा स्थानीय बासिन्दा पुगेको दाबी नै प्रस्तुत गरेकी छिन् ।
सत्तारुढ दलका सांसद शिवकुमार मण्डलले सर्लाहीको लालबन्दीमा भएको घटनाको सत्य तथ्यबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भने, ‘सर्लाहीको लालबन्दी भन्ने ठाउँमा विप्लवको कार्यकर्ता भिडन्तमा मारिएको भन्ने सुनिएको छ । वास्तवमा यतिबेला निःशस्त्र व्यक्तिहरुलाई मार्ने कुराले राज्यप्रतिको प्रश्न अत्यन्त संवेदनशील र गम्भीर बन्दै गएको छ ।’ सांसद मण्डलले भने विप्लव समूहप्रति राजनीतिक व्यवहार देखाउन पनि आग्रह गरेका छन् ।
प्रहरीले दुईवटा मोटरसाइकलमा रहेका चारजनाले गस्तीमा रहेको प्रहरीलाई देख्नासाथ गोली चलाएपछि आत्मरक्षाको निम्ति जवाफी फायर गर्दा पौडेलको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।
चन्द नेतृत्वको नेकपा जनकपुर ब्यूरोले ‘साथीहरू कुरिरहेको बेला पौडेललाई नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको आरोप लगाएको छ । विप्लवले पनि वक्तव्य जारी गरेर राजनीतिक कार्यक्रम सकेर फर्किँदै गर्दा पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिनु गैरन्यायिक हत्या र अपराधमाथि पर्दा हाल्न भिडन्तको कथा सार्वजनिक गरेको जनाएका छन् ।
यसैवीच मानव अधिकार आयोगले जीवन न्यौपानेको नेतृत्वमा स्थलगत अध्ययनका लागि टोली पठाएको छ । सो टोलीले प्रदेशस्थित आयोग कार्यालयको टोलीसँग मिलेर घटनाबारे प्रारम्भिक अनुसन्धान गर्ने बताइएको छ ।
घटनाबारे आयोगको गम्भीर ध्यानाकर्षण भएको बताउँदै आयोगका सचिव एवम् प्रवक्ता वेद भट्टराईले जारी गरेको विज्ञप्तिमा ‘टोलीले घटनाको अनुसन्धान र अनुगमन गरी तत्कालै आयोगमा प्रतिवेदन पेश गर्ने बताएका छन् ।
पौडेलको मृत्यु दोहोरो भिडन्तमा भएको हो वा होइन, उनलाई पक्राउ गर्न सकिने अवस्था थियो कि थिएन जस्ता कुराहरूमा अनुसन्धान केन्द्रित हुने न्यौपानेले बताएका छन् ।
घटनास्थल पुगेका इन्सेकका प्रदेश २ का संयोजक राजु पासवानले घटनास्थलको अध्ययन, स्थानीय बासिन्दासँग छलफल र त्यसपछि जिल्लास्थित अधिकारीहरूसँग कुराकानी गरिने बताएका छन् ।
यसअघि भोजपुरमा प्रहरीको गोली लागेर घाइते भई उपचारका क्रममा मृत्यु भएका तीर्थ घिमिरे पनि चन्दकै दलका हुन् । शुरूमा प्रहरीमाथि गोली चलाइएपछि प्रहरीले जवाफमा गोली चलाएको र घिमिरे घाइते भएको प्रहरीले जनाएको थियो । चन्दको पार्टीले भने उनलाई पनि नियन्त्रणमा लिएर गोली हानिएको दाबी गरेको थियो ।
विप्लव नेतृत्वको पार्टीले सर्वसाधारणको ज्यान समेत लिएको विस्फोटको घटनाको जिम्मा लिएपनि सुरक्षाकर्मीमाथि आक्रमण गर्ने कुनै नीति नरहेको दावी गर्दै आएको छ ।
पौडेलको हत्या विरुद्ध विप्लवको पार्टीले चार दिने आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लवले ओली नेतृत्वको सरकारले मुठभेडका नाममा देशव्यापी रुपमा निशस्त्र कार्यकर्ता माथिको हत्याश्रृंखला बढाएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको जनाएका छन् ।
आन्दोलनका कार्यक्रमहरुमा असार ७ गते प्रचार–प्रसार, असार ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम छन् । विप्लवले पौडेलको हत्या बारे छानविन गर्न सवै न्यायप्रेमी नागरिक, मानवअधिकारकर्मी, सञ्चारजगत तथा नागरिक समाजसँग आग्रह गरेका छन् ।
विवादास्पद ८ इन्काउन्टर
घटना १ ः गत ७ जेठमा मात्र सो विप्लव समूहका कार्यकर्ता तीर्थराज घिमिरे भोजपुरमा प्रहरीको गोलीबाट मारिएका थिए । त्यसपछि सो समूहले प्रतिशोधस्वरूप थप हिंसा चर्काएको थियो । सो घटनाको पनि आयोगले गम्भीरताका साथ छानबिन गरेको छैन ।
घटना २ ः बालक निशान खड्काको अपहरणपछि हत्या घटनामा संलग्न अजय तामाङ र गोपाल तामाङको गत वर्ष २१ साउनमा प्रहरीको गोलीबाट मृत्यु भएको थियो । ठिमीस्थित डेराबाट पक्राउ गरी जंगलमा लगेर उनलाई गोली हानिएको भन्दै आयोगमा उजुरी परेको थियो । आयोगले विशेष टिम बनाएर छानबिन गरे पनि हालसम्म यस सम्बन्धमा कुनै निर्णय गरेको छैन ।
घटना ३ ः गुन्डागर्दी गरेको आरोपमा दिनेश अधिकारी ‘चरी’ र कुमार घैँटे भनिने कुमार श्रेष्ठसमेत प्रहरीको गोलीबाट मारिएका थिए । दुवै घटनाको आयोगमा उजुरी परेको थियो । तर, ब्यालेस्टिक विज्ञ नभेटिएको बहानामा सो घटनाको छानबिन पनि आयोगले निष्कर्षमा पु¥याएन ।
घटना ४ ः गत माघमा सप्तरीको रूपनीमा प्रहरीको गोलीबाट दीपेन्द्र चौधरी मारिएका थिए । उनी पेसेवर अपराधी भएकाले घटनाको खासै विरोध भएन, प्रहरीले आन्तरिक छानबिन पनि गरेन ।
घटना ५ ः गत २९ पुसमा रूपन्देहीमा प्रहरीको गोलीबाट केदार सहनी मारिएका थिए । सिद्धार्थनगर नगरपालिका–४ मा प्रहरीसँग उनको दोहोरो भिडन्त भएको थियो । सो घटना पनि शंकास्पद थियो । तर, प्रहरीले यसबारेमा चासो देखाएको छैन ।
घटना ६ ः गत वर्ष मनोज पुन र सोमबहादुर आले पनि रूपन्देहीमा प्रहरीको गोलीबाट मारिएका थिए । उनीहरूलाई भारतबाट पक्राउ गरेर ल्याई गोली हानिएको परिवारले दाबी गरी मानवअधिकार आयोगमा उजुरी गरेका थिए । त्यो उजुरी पनि आयोगमा अलपत्रकै अवस्थामा छ ।
घटना ७ ः गत माघमै गोंगबुको एक गेस्ट हाउसमा काभ्रेका अविनाश लामालाई गोली हानियो । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई गोली हानेको हो । यस विषयमा आयोगमा उजुरी परे पनि केही कारबाही भएन ।
घटना ८ ः दुई साताअघि मात्र कास्की प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ गर्न गोविन्द थापामाथि गोली चलाएको थियो । सो घटनामा पनि प्रहरीले पक्राउ गरेर गोली हानिएको दाबी थापा परिवारले गरे, तर प्रहरीले कुनै चासो देखाएन ।