पराल्मीवासी कहिलेसम्म बत्तिमुनीको अँध्यारोमा ?
बुटवल । गुल्मीको सदरमुकाम तम्घास देखि ११ किलो मिटर रेसुङ्गाको जंगल र अनकन्टार भिरको बाटो छिचोल्दै बढो मुस्कीलले जिपको यात्रामा रेसुङ्गा नगरपालिका वडा नम्वर–१४, पराल्मी गाउँको प्रबेशद्धार तारनेटा पुगियो ।
त्यहाँबाट दुई किलो मिटर अगाडी बढे पछि वडा कार्यालय रहेको डाँडापोखरी र त्यहाँबाट पाँगा पुगे पछि पराल्मीको झन विकट र ठुलो वस्ती रातामाटा देखिन्छ । विकटताको हिसावले हिजोको बेग्लै गाविस बन्नु पर्ने रातामाटा गाउँ पुग्न झेसीखर्क हुँदै तीन घण्टा बढि समय लाख्छ ।
सदरमुकामको कोखमा रहेको साविक पराल्मी गाविस पञ्चायतकाल देखि बहुदल सम्म पनि त्यस गाउँलाई बत्तिमुनीको अध्यँरो भनियो, अहिले रेसुङ्गा नगरपालिकाको वडा नम्वर १४ बन्दा समेत भनाईमा मात्र होईन यथार्थ मै बत्तिमुनीको अँध्यारो छ ।
१८ किलो मिटर २५ बर्षमा पनि पुरा भएन
सदरमुकाम तम्घासबाट आफ्नो गाउँमा मोटरबाटो लैजान २०५२ सालमा पराल्मीका वासीन्दाले आफैले मोटरबाटो खन्न सुरु गरेका थिए । उनिहरुले उक्त मोटरबाटो सुरु गरेको अहिले झण्डै २५ बर्षि भयो । स्तरन्नोति सहित सम्पन्न हुनु त परै जावोस अन्तिम गन्तब्य सम्म ट्रयाक्क खोल्ने काम समेत पुरा हुन सकेको छैन ।
रेसुङ्गाको काँख गडजुराबाट २०६४ साल देखि डोजर लगाउन पनि सुरु गरियो तर गाडी पराल्मीको आधा गाउँ सम्म पनि पुग्न सकेको छैन । ‘तम्घास देखि पराल्मी ईन्द्रगौडा सम्म जम्मा १८ किलो मिटर रहेको छ’–त्यस वडाका वडाध्यक्ष शेरबहादुर पहराईले भने–‘ १३ किलो मिटर पाँगा सम्म गाडी जान्छ , त्यहाँ देखि केहि तल सम्म ट्रयाक खोले पनि गाडी जान सक्दैन ।’
उनका अनुसार पाँगाबाटै रातामाटा तर्फ करिव ५ किलो मिटर मोटरबाटो खन्ने काम पनि पुरा हुन सकेको छैन । रातामाटाबाट वडा कार्यालयको सेवा लिन त्यहाँका बासीन्दा तीन घण्टा भन्दा बढि समय लगाएर हिडेर आउन बाध्य छन । फर्किदा त्यति नै समय लगाउने गर्दछन । तल शिद्धडाँडाका वासीन्दा पनि मोटरबाटाको अभावमा डेढ दुई घण्टाको उकाली ओराली गर्न बाध्य छन । पराल्मीका अन्य टोलका वासीन्दालाई सदरमुकाम तम्घास आउन अरु बाटो प्रयोग गरेर छिटो हुन्छ , आफ्नो वडा कार्यालय आउन ढिला हुन्छ ।
जिल्ला मै एउटा यस्तो वडा
गुल्मीको सबै भन्दा बिकट मदाने मालिका र कालिगण्डकी गाउँपालिका मानिन्छ । सवै भन्दा सुगम स्थानिय तहका रुपमा रेसुङ्गा नगरपालिका मानिन्छ । गजबको कुरा त के छ भने ती दुर्गम गाउँका टोल टोलमा मोटर बाटो पुगि सकेको छैन । सुगम मानिएको रेसुङ्गा नगरपालिका कै त्यस १४ नम्वर वडाको सात वटा टोलमा मोटरबाटो पुग्न सकेको छैन ।
अधिकांस दलित जनजाती रहेको साविक पराल्मी गाविस भुगोलले त ठगियो नै त्यो भन्दा बढि ठगिएको पाईयो हिजाका जिल्ला स्थित विकास बाँड्ने नेताहरुबाट । चुनावताका पराल्मीको रातामाटा दलित वस्तीको भोट जसले मौका छोप्यो उसले चोर्न पाईने अस्थीर भोटका रुपमा लिईन्छ ।
मतदान गर्नुको दुई तीन दिन अघि देखि र मतदानको विहानपख सम्म भोटका लागि त्यहाँ कब्जा जमाएर बस्न नखोज्ने दल हुँदैनन । उनिहरुका विद्यमान समस्या समधान भई हाल्ने आश्वाशन नदिने पनि कोही हुँदैनन । २०६४ सालको निर्वाचन देखि पछिल्लो प्रदेश र संघको निर्वाचन सम्म पनि आश्वासनको क्रम जारी नै रह्यो । तर निर्वाचन ताका पुग्दा र अहिले पुग्दाको विकासे दृश्यमा कुनै खासै फरक छैन । ..
भनाईमा जस्तै बत्तिमुनीको अ“ध्यारो सधै
विद्युत, खानेपानी, शिक्षा स्वास्थ्य सबै कुराले पञ्चायत कालमा पनि पराल्मीलाई बत्तिमुनीको अँध्यारो भनियो, पत्रकारहरुबाट पनि त्यही लेखियो । बहुदलिय व्यबस्थाभर पनि त्यही बोलियो, त्यही लेखियो, अहिले रेसुङ्गा नगरपालिका बनेपछि पनि त्यही देखियो र स्थानियबाट पनि त्यही बत्तिमुनीको अँध्यारोमै परियो भन्ने गुनासो नै सुनियो ।
नेकपा पराल्मीका स्थानिय नेता भन्छन्,, पञ्चायत र बहुदल ताकाको कुरा स्मरण गर्ने परेन, २०६४ सालदेखि यताका निर्वाचनमा यहाँका बासीन्दाले नेताहरुबाट पाउँदै आएको आश्वासन, आश्वासन मै सिमित छ । गणतन्त्र पछिको पहिलो चुनाव गरेको पनि १२ बर्ष भई सक्यो, बाह्र बर्ष कुरे त खोला पनि फर्किन्छ भन्थे तर फर्केन ।
नेकपाका नेता भट्टराईले पञ्चायत काल, बहुदलिय ब्यवस्था देखि सदरमुकामले बत्तिमुनीको अँध्यारो भनेको र राख्न पनि अहिले सम्म अँध्योरो मै राखेको प्रतिकृया दिए । ‘रेसुङ्गा नगरपालिका भित्र पराल्मी गाविस परेपछि त त्यो कहवतबाट मुक्ति पाईला भन्ने ठानेर निकै उत्साहित भएका थियौं तर नगरवासी हुनुको अनुभुती गर्नै सकेनौं’ उनले भने–‘ सबै वडालाई बराबरी गरेर रकम विनियोजित भए पछि हिजो देखिको विकासित वडाहरु माथी पुग्दै र हाम्रो यस वडा पछाडीको पछाडी नै पर्ने भएको छ ।’
नेपाली कांग्रेस पराल्मीका वडा सभापति धनबहादुर पुनले पनि पराल्मीलाई नगरपालिका, प्रदेश र केन्द्र सरकारले ध्यान दिन नसके बत्तिमुनीको अध्याँरो पुरानो कहवत अझै बर्षऔं सम्म रहने धारणा राखे । उनले भने ‘हामी नगरपालिकामा डेलिगेशन गएर ध्यानकृष्ट गराउँदा पनि गएको दुई बर्ष सम्म अरु वडालाई जति रकम दिईयो त्यतीनै रकम हाम्रो वडाले पाए पछि यहाँको मोटरबाटाको स्तरन्नोति हुन सकेन , अन्य विकास निर्माणले पनि गति लिन नसकेको हो ।’
यहि अवस्था रहे वस्ती रित्तिने छ
त्यहाँका महिलाहरुको प्रतिनिधी गर्दै पराल्मी महिला विकास कृषि सहकारी संस्थाकी अध्यक्ष विष्णुमाया पोखरेलले मोटरबाटो, खानेपानीको समस्या र नजिक विद्यालय अभावको यहि अवस्था रहिरहे पराल्मी गाउँ रित्तिन अब धेरै बर्ष नलाग्ने बताईन ।
यी तीन कुराको समस्याले गर्दा यहाँबाट धेरै जसो बसाई सराई गरेर घर रित्तै र जमिन बाँझै भएको छ, पोखरेलले भनिन यी समस्याको समधान चाँडै हुन नसके यहाँको वस्ती रित्तिन धेरै समय लाग्व्ने छैन । उनले धारामा एक गाग्रो पानी भर्ना दुई घण्टा कुर्नु पर्ने समस्या सुनाईन ।
स्कुल जाने छोरा छोरीलाई धारामा राखेर पालो कुराउँनु पर्दा उनिहरु होमवर्क गर्न पाउँदैनन । कोही त स्कुल जान नै भ्याउँदैनन , पानी अभावकै कारण बालबालिकाको पढाईमा असर परेको छ । धनीले त सदरमुकाममा राखेर पढाएका छन, यहाँ पढाउँने दलित गरिबहरुले नै हो, यसको प्रत्यक्ष असर त्यही वर्ग समुदायलाई नै परेको छ ।
अहिले झन यस कारणले मर्काममा परे
साविक जिल्ला विकास छँदा पनि सविकको पराल्मी गाविसलाई सौतेलो व्यबहार भएको भन्दै त्यहाँका पुर्व गाविस अध्यष शिवलला पोखरेलले आक्रोष पोख्दै आएका थिए । ईलाका स्तरिय योजना तर्जुमा गोष्ठीमा पराल्मीको माग सुन्न निकै गाह्रो मान्ने गरेको भन्दै पोखरेलले आक्रोष पोख्थे ।
स्थानिय तहको पुनरसंरचना हुँदा पराल्मीवासी दलहरुको भोट बाँडफाँडको शिकार हुन पुगे । साविक सिमीचौर गाविसलाई दुई वडा बनाईयो । दुविचौरलाई दुई वटा वडा बनाईयो । अर्खलेलाई साविक नयाँ गाउँगाविसका वडाहरु समेत गाभेर ३ वटा वटा वडा बनाईयो । साविक तम्घास गाविसलाई ५ वटा वडा बनाईयो तर जुन पराल्मी गाविसलाई दुई वडा अत्यावश्यक थियौ उसैलाई एक वडामा मात्रै सिमित राखेर थप मर्कामा पारियो ।
अहिले साविकको सिमिचौरले दुई वटा वडाले लैजाने बजेट लगेर विकासको गति दिएको छ , दुविचौरले पनि दुई वटा वडा , अर्खलेले ३ वडा वडा र विकासित भई सकेको साविक तम्घास गाविसले ५ वटा वडाको विकास वजेट लैजाँदा पराल्मीले एउटा वडाको त्यो पनि अरु वडाको दामासहीको वजेट पाउँछ ।
यस हिसावले वजेट विनियोजन गर्ने हो भने रेसुङ्गा नगरपालिकाको अन्य वडाको विकास र त्यहाँका जनताको समृद्धिको तहमा पुग्न पराल्मीवासी कहिल्लै नसक्ने निश्चित भएको वडाध्यक्ष शेरबहादुर पहराई चिन्ता छ । रेसुङ्गा नगरपालिकामा पहिलो बर्ष सबै वडालाई बराबरी ७० लाखका दरले रकम विनियोजन गरियो ।
पराल्मी सहित विद्युती करण हुन नसकेको चार वटा वडालाई थप तीन तीन लाखका दरले दिईयो । दोश्रो बर्ष ५६ लाखका दरले विनियोजन गरियो यस आर्थिक वर्षको वजेटको सिलिङ्ग पनि त्यसरी नै दामासहीमा बनाईएको छ, वडाध्यक्ष पहराई भन्छन–‘यस्तो वजेट अब पराल्मीवासीले बहिस्कार गर्छन, उतै सदरमुकाम तिर कै मान्छेले गरि खाउन ।’
उनिहरुको यो गुनासो रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालसंग राख्दा उनले आफु अन्य वडाको दाँजोमा बजेट विनियोजन गर्न नहुने पक्षमा रहेको दावी गरे । पराल्मी अन्य वडा भन्दा धेरै पछाडी परेको र साँच्ची नै बत्तिमुनीको अँध्यारो वडा हो, पराल्मीलाई अन्य वडा भन्दा बढि नै रकम विनियोजन गरिनु पर्छ उनले भने नगरसभामा यस्तो प्रस्ताव राखिने छ ।
नेपाली कांग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले पनि पराल्मीलाई अन्य वडाको दामासहीमा वजेट विनियोजन गर्ने हो भने अरु धेरै बर्ष सम्म पराल्मी बत्तिमुनीको अँध्यारो भईरहने धारणा राखे ।उनले भने पहिल्लै देखि पछाडी पर्दै आएको पराल्मीलाई दामासहीमा वजेट विनियोजन नगरि त्यहाँ बिशोष बजेटको ब्यबस्था गर्न म रेसुङ्गा नगरपालिका संग आग्रह गर्दछु ।
श्रोतका अनुसार पराल्मीलाई बिशेष वजेट बजेटको ब्यवस्था गर्न मेयर भुसाल र उपमेयर सिता भण्डारी सकरात्मक भए पनि अन्य केहि जनप्रतिनिधीहरुले भाँजो हाल्ने गरेका छन । पराल्मीवासीको प्रश्न छ, अहिले सम्म त पराल्मीलाई बत्तिमुनीको अँध्यारो भनेनौं मात्र बनाईयौ नै, अब कति बर्ष बनाउँ छौं ? हामी कुर्ने वाला छैनौं ।