लोकतान्त्रिक कलाकार तथा कर्मचारी संघद्वारा प्रशिक्षण र स्वास्थ्य शिविर

सन्दर्भ : नेपाल प्रज्ञा–प्रतिष्ठानको वार्षिकोत्सव

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६२औं वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानस्थित लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्घले ‘जीवन रूपान्तरण’ विषयक उत्प्रेरणात्मक प्रशिक्षण कार्यक्रम तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । बिहीबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै ओशो तपोवन नेपालका प्रमुख स्वामी आनन्द अरुणले आधुनिक समयमा भौतिक सुखसयल प्राप्त भए पनि मानिसमा आत्मिक शान्ति हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।


स्वामी अरुणले विकसित देशमा व्याप्त यो समस्या विस्तारै अल्पविकसित देशहरूमा फैलिदै गएको र यसले आम मानिसलाई गाँज्दै लगेको बताउँदै सचेत हुनुपर्ने सुझाए । ध्यान र योगाभ्यासमार्पmत आत्मिक शान्ति कायम गर्न सकिने वताउँदै स्वामी अरुणले बुद्ध जयन्तीको दिनलाई विश्व ध्यान दिवसका रूपमा मनाउन नेपालले पहलकदमी लिनुपर्ने सुझाए ।
त्यस्तै कार्यक्रमका अर्का वक्ता आध्यात्मिक चिन्तक डा. चिन्तामणि योगीले आधुनिक दुनियाँमा मानिस गन्तव्य नै निश्चित नगरी अरूको लहैलहैमा दौडिएको वताउँदै गन्तव्य निश्चित गरेर अगाडि बढेमा मात्र चाहेको चिज अर्थात् आत्मिक शान्ति प्राप्त हुने बताए ।


कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा दार्शनिक प्रवचन र स्वास्थ्य शिविर आयोजना गरेकोमा संघको प्रशंसा गरे । बुद्ध जयन्तीको दिनलाई विश्व ध्यान दिवसका रूपमा मनाउन नेपालले पहलकदमी लिनुपर्ने स्वामी आनन्द अरुणको धारणा अत्यन्तै सराहनीय भएको भन्दै कुलपति उप्रेतीले त्यसका लागि प्रतिष्ठानले पहल गर्ने प्रतिबद्धता जनाए ।
उपकुलपति डा. जगमान गुरुङले निरन्तरको इमान्दार प्रयत्नबाट प्राप्त हुने सफलता आत्मिक सुखको राज भएको बताए । सङ्घका अध्यक्ष अशोक चौरसियाले सहभागीलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए ।


सङ्घद्वारा गठित ६२ औं वार्षिकोत्सव अतिरिक्त क्रियाकलाप समिति—२०७६ का संयोजक हरि पाठकले कार्यक्रमको सभापतित्व गर्दै सङ्घले आफ्नो स्थापनाकालदेखि नै कर्मचारीको हक, हित, अधिकार र कल्याणप्रति केन्द्रित हुँदै आफ्ना कार्यक्रम गर्दै आएको जानकारी दिए । अघिल्लो वर्ष प्रतिष्ठानको वार्षिकोत्सवको सन्दर्भमा चित्रकला प्रदर्शनीको आयोजना गरेको स्मरण गर्दै उनले यसपटक दैनिक जीवनका कामहरूबाट भएको थकान र तनावबाट मुक्ति पाउन सकौँ भन्ने उद्देश्यले प्रेरणादायी प्रवचन कार्यक्रम राखिएको बताए ।
स्वास्थ्य शिविरमा त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकहरुले करिब १५० भन्दा बढीको स्वास्थ्य जाँच गरेका थिए भने स्वास्थ्य समस्या देखिएकाहरुलाई निःशुल्क औषधि समेत प्रदान गरिएको थियो ।


सङ्घले वर्षैपिच्छे दुई जना उत्कृष्ट कर्मचारीलाई सम्मान गर्दै आएको र यसपटक प्रतिष्ठानका कर्मचारीहरू सानु पुजारी र सावित्री नेपालीलाई वर्षका उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको सङ्घका महासचिव होमराज ढुङ्गेलले जानकारी दिए ।
सङ्घका पूर्व कार्यबाहक अध्यक्ष बुद्धि तिमल्सिनाद्वारा सञ्चालन गरिएको कार्यक्रममा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला, वर्तमान सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय लगायत प्राज्ञ परिषद् र प्राज्ञ सभाका सदस्यहरू, आजीवन सदस्यहरू, ट्रेड युनियन काङ्ग्रेसका नेता एवं प्रतिनिधिहरू र प्रतिष्ठानका कर्मचारी तथा सर्वसाधारणहरुको उल्लेख्य उपस्थिति थियो ।