कहिले सुध्रिन्छ सामुदायिक विद्यालयको शिक्षा ?

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले विहीबार सार्वजनिक गरेको २०७५ सालको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) परीक्षाको नतिजाअनुसार सामुदायिक विद्यालयहरुको अवस्था सुधार हुन सकेको देखिदैन ।
निजी लगानीका विद्यालयको तुलनामा सार्वजनिक विद्यालयको स्तर धेरै नै खस्किएको छ । सरकारले सार्वजनिक विद्यालय सुधारका लागि विभिन्न अभियान र कार्यक्रम सञ्चालन गरेको भएपनि परीक्षाफलमा निजी लगानीका विद्यालयका विद्यार्थीले राम्रो स्तरीकृत अङ्क (जिपिए) ल्याएका छन् भने सामुदायिक विद्यालयका विद्यार्थीहरुले न्यून मात्रामा मात्र राम्रो जीपीए ल्याएका छन्् ।
२०७५ सालको एसइई परीक्षामा कूल सहभागी चार लाख ९५ हजार २७५ विद्यार्थीमध्ये सार्वजनिक विद्यालयबाट ७० दशमलव ८४ र निजीका २९ दशमलव १६ प्रतिशत विद्यार्थी छन् । तर माथिल्लो जिपिए ‘ए प्लस’ ल्याउने विद्यार्थी १४ हजार ७८८ निजी विद्यालयकै छन् । जिपिएमा सार्वजनिक विद्यालयका दुई हजार ७९२ विद्यार्थी मात्र छन् । सबैभन्दा तल्लो जिपिए ‘इ’ ल्याउनेमा सार्वजनिक विद्यालयका छ हजार ६७३ छन् भने निजीका एक हजार ९६ मात्र छन् । जसले गर्दा सरकारी विद्यालयको स्तर निजीको तुलनामा कमजोर देखिएको छ ।
परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार ४८ हजार ९६० विद्यार्थीले जिपिए ३.२० देखि ३.६० (ए), ६० हजार ७०६ विद्यार्थीले जिपिए २.८० देखि ३.२० (बी प्लस), ९४ हजार ११० विद्यार्थीले जिपिए २.४० देखि २.८० (बी), ९७ हजार २९९ विद्यार्थीले जिपिए २.०० देखि २.४० (सी प्लस) र ९५ हजार २०९ विद्यार्थीले १.६० देखि २.०० (सी) ल्याउन सफल भएका छन् । यस्तै ४३ हजार ८४० विद्यार्थीले १.२० देखि १.६० (डी प्लस), चार हजार ४२९ विद्यार्थीले ०.८० देखि १.२० (डी) प्राप्त गरेका छन् । आठ हजार २०७ विद्यार्थीको भने विभिन्न कारणले नतिजा सार्वजनिक भएको छैन ।
प्राविधिक धारतर्फ ६९८ विद्यार्थीले ‘ए प्लस’, दुई हजार १७७ विद्यार्थीले ‘ए’, तीन हजार ३५ विद्यार्थीले ‘बी प्लस’, दुई हजार ४५४ विद्यार्थीले ‘बी’, ९०८ विद्यार्थीले ‘सी प्लस’ तथा ९८ विद्यार्थीले ‘सी’ तथा एक विद्यार्थीले ‘डी प्लस’ ल्याएका छन् । प्राविधिक धारतर्फ २६२ परीक्षार्थीको नतिजा सार्वजनिक हुन बाँकी छ । नियन्त्रक अधिकारीका अनुसार साधारण र प्राविधिकतर्फ चार लाख ७५ हजार तीन परीक्षार्थीले परीक्षामा आवेदन दिएका थिए । नियमित र प्राविधिकतर्फ गरी कूल आठ हजार ४६९ परीक्षार्थीको नतिजा सार्वजनिक नगरिएको उनले जानकारी दिए ।
परीक्षाको मर्यादाविपरीत कार्य गर्ने र गलत विवरण भरी आवेदन दिने दुई परीक्षार्थीको सबै विषय तथा ४८ परीक्षार्थीको विभिन्न विषयसहित कूल ५० परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । विगत वर्षमा एकैपटक आंशिक परीक्षाको नतिजा सार्वजनिक गर्ने गरे पनि कार्यालयले यस वर्ष भने आंशिक परीक्षाको नतिजा सार्वजनिक गर्न सकेन । पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अधिकारीले जति सक्दो छिटो आंशिक परीक्षाको नतिजा सार्वजनिक गर्ने जानकारी दिए ।
शिक्षाविद् डा. विद्यानाथ कोइरालाले कोही पनि विद्यार्थी अनुत्तीर्ण नभनिने अक्षराङ्कन प्रणालीमा पनि सार्वजनिक विद्यालयका यति धेरै विद्यार्थीको नतिजा कमजोर हुनु चिन्ताजनक भएको बताएका छन् । सामुदायिक विद्यालयबाट राम्रो परिणाम नआउनुको कारण बारे डा. कोइरालाको विश्लेषण छ “सार्वजनिक विद्यालयमा पढाउने शिक्षकले सम्मान र नपढाउने शिक्षकले गाली पाएनन् । पढाउन नजान्नेलाई पनि सहयोगी वातावरण र समग्रमा शिक्षकलाई प्रोत्साहित गरिएन । त्यसकारण गुणस्तर खस्किएको हो ।”