अर्ब खर्च हुने आइफाबाट नेपाललाई के नाफा ?
काठमाडौं । इन्टरनेसनल इन्डिया फिल्म एकेडेमी (आइफा) अवार्ड नेपालमा आयोजना गर्न नेपाल सरकारले ठूलो रकम सहयोग गर्ने निर्णय गरेपछि यसले वहसको रुप लिएको छ ।
सरकारले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै आइफा अवार्डलाई सहयोग गर्न खोजेपछि केहीले यसको समर्थन गरेका छन् भने धेरैले यस्तो कार्यक्रम गर्दैमा पर्यटन प्रवद्र्धन नहुने भन्दै बिरोध जनाएका छन् ।
भारतमा निजी तवरमा हुने कार्यक्रमलाई सरकारले अगस्टको अन्तिम साता काठमाडौंमा आयोजना गर्दैछ । आगन्तुकको आवातजावत र बसाइ गरी १ अर्बभन्दा बढी सरकारी ढुकुटी उक्त कार्यक्रममा खर्च हुने भएको भन्दै आलोचना भइरहेको छ ।
नेपाली चलचित्र उद्योगको प्रवद्र्धनमा ध्यान नपु¥याएको सरकारले आफै आयोजक बनेर इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) लाई आर्थिक सहयोग गरेको प्रति चलचित्रकर्मीहरुले आपत्ति जनाएका छन् ।
विशेष गरेर सामाजिक सञ्जालहरुमा यसबारे विभिन्न टिकाटिप्पणी भइरहेको छ । सर्वसाधारणदेखि पत्रकार, लेखक, कलाकार तथा राजनीतिकर्मीहरुले समेत सरकारी निर्णयको चर्को बिरोध गरेका छन् ।
बिरोध गर्नेमा स्वयं सत्तारुढ नेकपाकै नेता तथा पूर्व उपप्रधान एवं रक्षामन्त्री भिम रावल समेत रहेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटमार्फत यसको विरोध जनाएका हुन् । उनले लेखेका छन् “भारतीय चलचित्र पुरस्कार आइफाको आयोजनाको लागि काठमाडौं महानगरले ४४ करोड दिने, नेपालको करिव १ अर्ब लगानी हुने र त्यसलाई सरकारले स्वीकृति दिएको खवर सुन्दा आश्चर्य लागेको छ । यस्ता काम कस्को उक्साहट र स्वार्थमा कसले किन गर्छ होला ? नेकपाको स्थायी समिति बैठक भए जान्न (आइफा बारे) पाइन्थ्यो कि ?’
त्यस्तै चलचित्र निर्देशक प्रदीप भट्टराई, चलचित्र निर्माता तथा निर्देशक केपी पाठकले पनि यस्तो अवार्ड कार्यक्रम आयोजना गर्नु भन्दा बरु चलचित्र छायांकनका लागि आमन्त्रण गरे नेपालको पर्यटन प्रवद्र्धन हुने सुझाव दिएका छन् ।
त्यस्तै विद्यार्थी नेता जागृत रायमाझीले पनि संचारमन्त्री गोकुल बास्कोटालाई इंगित गर्दै अवार्ड कार्यक्रम सरकारको भद्धा मजाक भन्दै टिप्पणी गरेका छन् । उनले आक्रोश पोख्दै लेखेका छन् ‘यसले नेपाली फिल्म उद्योगको प्रवद्र्धन होइन बलिउडको आयात मात्र गर्छ । सांस्कृतिक साम्राज्यबादको सांस्कृतिक दलाली गरेर के सांस्कृतिक बक्सिस पाउने ?’
त्यस्तै लेखक तथा पत्रकार यज्ञसले पनि नेपालमा अन्तर्राष्ट्रिय फिल्म महोत्सव गर्न एक करोड छुट्याउन नसक्ने सरकारले बलिउड अवार्डलाई ४४ करोड दिने कुरा अस्वाभाविक रहेको बताएका छन् ।
यसैवीच स्वतन्त्र राष्ट्रिय अभियान नेपालले आईफा अवार्ड कार्यक्रम गर्न सरकारले रकम व्यहोर्ने निर्णय गरेकोमा विरोध जनाउंदै यो रकम तत्काल नरोके कार्यक्रम अबरुद्ध पार्ने चेतावनी दिएको छ ।
अभियानका संयोजक स्वागत नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘एउटा पूर्ण रुपमा नाफा कमाउने उद्देश्यले स्थापित प्राइभेट कम्पनी विजक्राफ्ट इन्टरन्याशनल इन्टरटेन्मेन्ट प्रालिले आफ्नै खर्चमा गर्दै आएको कार्यक्रम परम्परा बिपरीत नेपाल सरकारले खर्च ब्यहोर्ने यो कार्य चरम भ्रष्टिकरणको नमुना हो ।
‘सरकारले एकातर्फ क्लिन फिड लागू गरी अन्य मुलुकका विज्ञापनमा प्रतिबन्ध लगाउने नीति लिएको प्रचार गर्ने तर भित्रभित्रै जनताको कर तिरेको रकमबाट संकलित राज्यकोष नै भ्रष्टाचारयुक्त रुपमा विदेशी संस्कृतिको स्वदेशभित्र आमन्त्रित हस्तक्षेपको रुपमा विस्तार गर्ने एजेण्टको रुपमा देश र संस्कृतिघाति गतिविधि गर्ने क्रमलाई तत्काल रोक्न’ बिज्ञप्तिमा भनिएको छ ।
सरकारले नेपाल भ्रमण वर्ष २०२० र पर्यटन प्रवद्र्धनका लागि भन्दै ‘आइफा अवार्ड–२०१९’ अगस्टको अन्तिम साता सैनिक मुख्यालयको खेल मैदानमा आयोजना गर्ने निर्णय गरेको छ । काठमाडौंमा हुने आइफाको २०औं संस्करणका लागि ६ सयभन्दा बढी प्रतिनिधि र ६० भन्दा बढी भारतीय कलाकार तथा चर्चित व्यक्तिको उपस्थिति रहनेछ । कलाकारहरुको आवतजावत तथा बसाइको व्यवस्था नेपालले गर्ने बताइएको छ ।
कार्यक्रमका लागि पर्यटन बोर्ड र काठमाडौं महानगरपालिका सहआयोजक बनेका छन् । अवार्ड वितरण कार्यक्रमको समन्वय, व्यवस्थापन तथा सुरक्षाका लागि सरकारले एउटा कमिटीसमेत बनाएको छ । कमिटीको संयोजकमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढा रहनेछन् । कमिटीमा काठमाडौं महानगरपालिकाका मेयर, पर्यटन, गृह, अर्थ, सञ्चार, परराष्ट्र, भौतिक मन्त्रालयमका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष, भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्य, चलचित्र विकास बोर्डका अध्यक्ष, उद्योग वाणिज्य महासंघका अध्यक्ष, उद्योग परिसंघका अध्यक्ष, चेम्बर अफ कर्मसका अध्यक्ष, होटल संघका नेपालका अध्यक्ष र नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशी लगायत रहेका छन् ।