सबै दलको परराष्ट्र नीति एउटै हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दलहरुको परराष्ट्र नीति एउटै हुनुपर्ने बताएका छन् । नेपालको पराराष्ट्र नीतिबारे परराष्ट्र मन्त्रालयले शनिबार पहिलो पटक आयोजना गरेको राष्ट्रिय संवाद कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
परराष्ट्र नीतिको सम्बन्धमा सिंगो देश एक हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले भने, ‘परराष्ट्र नीतिमा सिंगो देश एक हुनुपर्छ । एउटै भाषा बोल्नुपर्छ । सरकारले एकलौटी काम गर्दैन ।’
नेपालको परराष्ट्र नीतिलाई सबैले चासोपूर्वक हेरिरहेको बताउँदै ओलीले छिमेकीसहित सबै राष्ट्रलाई हेर्ने नीति एउटै हुनुपर्ने धारणा राखेका छन् ।
प्रधानमन्त्री ओलीले भारतसँग बेला–बेलामा भइरहने खटपट अन्त्यको प्रयास भइरहेको वताउँदै नेपालले कसैले नहेपे नेपालले पनि कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताए ।
नेपालको वर्तमान आवश्यकता अनुसार लगानीमैत्री परराष्ट्र नीति अवलम्बन गरिएको पनि प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले आवश्यकता भन्दा बढी कुटनीतिक क्रियाकलाप छिमेकी वा अरु कोहीबाट नहोस् भन्ने सरकारको चाहना रहेको पनि बताएका छन् । राष्ट्रिय अस्तित्वलाई जोगाउने कुरामा पूर्वजहरुको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै ओलीले भने ‘पूर्वजहरुलाई यतिबेला सम्मानपूर्वक स्मरण गर्न चाहन्छु । किनभने उहाँहरुको राष्ट्रिय अस्तित्व र स्वाधीनतालाई बचाउने कुरामा महत्वपूर्ण योगदान रह्यो ।’
सन्तुलित परराष्ट्र नीतिमा जोड दिँदै प्रधानमन्त्री ओलीले भने, ‘सन्तुलित परराष्ट्र नीति र भौगोलिक अवस्था सबैले ख्याल गर्नुपर्छ । हामी छिमेकमा पनि कुनै खालको तनाव नहोस् भन्ने चाहन्छौं । तनावको अवस्था आइहाले उचित ढंगबाट संवादमार्फत तनाव साम्य होस् ।’
कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले राजनीतिक परिवर्तनले परराष्ट्र नीतिलाई प्रभाव पार्ने भन्दै अहिले राजनीतिक मुद्दा धेरै सम्बोधन भएको बताए । अतिवाद र आतंकवाद नेपालको चुनौति रहेको उल्लेख गर्दै ज्ञवालीले अहिले समयसापेक्ष परराष्ट्र नीतिको आवश्यकता भएको बताए । देशको बाह्य सम्बन्धमा समायानुकूल विकास र परिवर्तन गर्न नेपालले चाहेको पनि सो अवसरमा ज्ञवालीले बताए ।
यस्तै विगतमा भएका सन्धीमा पुनरावलोकन गर्दै समयानुकुल सार्वभौम सन्धीको चाहना भएको उल्लेख गर्दै ज्ञवालीले सार्वभौम र स्वतन्त्र परराष्ट्र नीतिमा जोड दिए । उनले छिमेकको सम्बन्धलाई वर्तमान सरकारले ज्यादा महत्व दिएको उल्लेख गर्दै छिमेकको चासोप्रति सदैव सजग र सहयोगी रहेको पनि बताए ।