निदाउँदा जेट विमान भित्रै थुनिइन् एडम्स
उत्तर अमेरिकी देश क्यानडामा गत साता अनौठो घटना भएको छ । टिफानी एडम्स नाम गरेकी युवती विमानमा निदाउँदा पार्किङमा मध्यरातसम्म ठूलो विमानमा एक्लै थुनिएकी हुन् ।
यस घटनाबारे एडम्सकी साथी डियना नोइल डेलले उनको फेसबुक पोष्ट बुधबार एयर क्यानडाको पेजमा ‘शेयर’ गरेपछि उक्त घटना बाहिर आएको हो । उनी एयर क्यानडाको जहाजमा क्युबेकबाट टोरन्टो गइरहेकी थिइन् । उडानकै दौडान उनी निदाउन पुगिन् । विमान गन्तव्यमा पुग्यो । सबै यात्रु झरे तर उनी निदाएको निदायै भइन्, कसैले बोलाइदिएन । उनी जब ब्युँझिन्, तब मध्यरात भइसकेको थियो । बाहिर अत्यन्त चिसो र निष्पट्ट अन्धकार थियो । त्यसपछि मात्रै उनले आफूलाई कसैले नबोलाई विमानबाट बाहिरिएको महसुस भयो ।
उनी रहेको जहाज एयरपोर्टमा पार्क गरिएको अवस्थामा थियो । त्यसपछि उनले साथीलाई आफू मध्यरातमा विमानमा एक्लै रहेको मोबाइल सन्देश पठाइन् । त्यसपछि दुई साथीले फेसटाइम वार्ता के सुरु गरेका थिए, टिफानीको मोबाइलको चार्ज सकियो । यसले झनै उनलाई हतास बनायो । त्यसपछि उनी मोबाइल चार्ज गर्ने उपाय खोज्न थालिन् । यूएसबीपोर्ट भेटाएजति चार्जर राख्दा पनि मोबाइल चार्ज भएन किनकि विमान बन्द गरेपछि त्यसमा कुनै विद्युत् प्रवाह उपलब्ध भएन । त्यसपछि उनी कसरी बाहिरिने उपाय खोज्दै ककपिटसम्म पुगिन्, जहाँ एउटा फ्ल्यासलाइट फेला पर्यो । त्यसलाई उनले झ्यालबाहिर देखाउन थालिन् ता कि कोही कसैले उक्त लाइट देखोस् र आफूलाई विमानबाट बाहिर निकालोस् ।
यस्तैमा उनी विमानको ढोका खोल्न सफल भइन् तर भुइँभन्दा उनी निकै फिट माथि थिइन् । यत्तिकैमा एक जना ल्याडर डकसहित त्यहाँ आइपुगे । उनी त्यसमा सुरक्षित साथ हाम फालिन् । उक्त घटनायता आफूलाई राम्ररी निद्रा नै पर्न नसकेको र त्यो आतंकले अझै पछ्याइरहेको उनले पोष्टमा लेखेकी छिन् । पछि उनीसँग एयर क्यानडाका पदाधिकारीले माफी मागेको बताइएको छ । यसबारे सामाजिक सञ्जालमा राम्रै चर्चा भएको छ ।