पानीको हाहाकार भोगेको धुर्कोटमा घर–घरमा धारा
महिलाको हस्ताक्षरबिना पैसा निकाल्न नपाईने
गुल्मी । गुल्मी जिल्लामा खानेपानीको अभाव खेपेका विभिन्न गाउँवासीले धुर्कोटमा जस्तै काकाकुलको अवस्था भयो भनेर कुनै समय उदाहरण दिने गर्दथे । अहिले त्यसै धुर्कोटमा एक हजार भन्दा बढि घरधुरीमा घर–घरमा पानीको धारा पुगेको छ ।
‘स्थानीय तहको निर्वाचनसम्म हामीले चार घण्टा लगाएर एक गाग्रो पानी बोक्थ्यौं, –धुर्कोट गाउँपालिका वडा नम्वर–६, की वडा सदस्य मधु दर्जिले भनिन्–‘ अहिले त धेरैको घर घरमा पानीको धारा आईसकेको छ, केहीको आउन बाँकी छ । ’
धुर्कोट गाउँपालिका पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना (वास ) का संयोजक छविलाल बिश्वकर्माका अनुसार त्यस वडामा धुर खानेपानी योजना अन्तर्गत ५५ घरधुरी, धुर्कोटरजस्थल खानेपानी योजनाबाट करिव २ सय ५० घरधुरी, कमेरपानी खानेपानी योजनाबाट २३ घरमा घर घरमा खानेपानी धारा पुगेको छ । लाँहटा खानेपानी योजनाबाट करिव ३० घरधुरीको घर–घरमा धारा पुगेको छ ।
सोही वडासंग जोडिएको वडा नम्वर–४ जैसीथोकमा पनि खानेपानीको उत्तिकै समस्या थियो । एक डेढ घण्टा उकाली ओराली गरेर एक गाग्रो पानी ल्याउने त्यहाँका वासीन्दा मध्ये अहिले करिव ३ सय घरधुरीमा घरघरमा पानीको धारा पुगेको छ ।
त्यहाँकी वासीन्दा तथा धुर्कोट गाउँपालिका कार्य समिति सदस्य विमला घिमिरेले जैसीथोकका महिलाहरुले भोग्नु परेको खानेपानी समस्या पहिलो प्रथामिकतामा पारेर अन्य खानेपानी योजना पनि सम्पन्न हुने चरणमा रहेको बताईन् । धुर्कोट गाउँपालिका वडा नम्वर ३ साविकको वडा नम्वर १, वर्दवासटोलमा १ सय ३३ घरधुरीको घर घरमा धारा पुगेको वास संयोजक बिश्वकर्माले बताए ।
त्यहाँको साविकको वडा ४, ५ , ६ र ७ मा खानेपानीको अत्यन्तै समस्या रहेको वडा सदस्य दिलबहादुर थापाले बताए । त्यहाँ खानेपानीको मुहानको समस्याले गर्दा बिकल्प खोजिएको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए ।
वडा नम्वर १ नयाँगाउँमा ८ सय ३० घरधुरी मध्ये ३ सय ५० घरधुरीमा घर घरमा धारा पुगेको वडा सदस्य चेतमान कुँवरले बताए । वडा नम्वर ७ वाग्लामा १ सय ४६ को घरघरमा धारा पुगेको र अन्य तीन वटा खानेपानी योजना सम्पन्न हुने चरणमा रहेको वडाध्यक्ष हिमप्रसाद पन्थीले बताए । वडा नम्वर २ पिपलधारामा पनि एक घर एक धाराको काम अन्तिम चरणमा पुगेको छ ।
गाउँपालिका प्रमुख पोखरेलले शनिवार आर्थिक बर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम सभामा पेश गर्दै ११ सय ११ घरधुरीमा स्वच्छ खानेपानी एक घर एक धारा पुराई सकिएको प्रतिवेदन सभामा पेश गरे । दुई बर्ष भित्र धुर्कोटका प्रत्येक घरधुरीमा एक घर एक धारा पु¥याउने गरि योजना अगाडी सारिएको उपप्रमुख शिवबहादुर केसीले जानकारी दिए ।
महिलाको हस्ताक्षरबिना पैसा निकाल्न नपाईने
आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै धुर्कोट गाउँपालिकाले प्रदेश ५मै एउटा पृथक नीति अवलम्बन गरेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले हालसम्म महिलाहरुलाई विकास निर्माणमा किनाराको साक्षी बनाउँदै उपभोक्ता समितिमा झारा टार्न राख्दै आएकोले अब त्यस्ता उपभोक्ता समितिहरु खारेज गरिने चेतावनी दिए ।
अध्यक्ष पोखरेलले अब कुनै पनि विकास निर्माणको उपभोक्ता समितिमा पदाधिकारीसहित ४५ प्रतिशत महिला हुनुपर्ने, रकम निकासी गर्दा चेकमा अनिवार्य महिला पदाधिकारीको हस्ताक्षर हुनैपर्ने धुर्कोट गाउँपालिकाले नीति अगाडि सारेको बताए ।
उनले भने–‘नीति बनाईएको मात्र होईन कार्यान्वयन पनि गरेरै छाड्छौं, उपभोक्ता समितिमा महिला, दलित र पछाडि परेका समुदायलाई किनाराको साक्षी बनाउनका लागि मात्र उपभोक्ता समिति राख्ने ग।िरएको छ, त्यसको अन्त्य गरेरै छाड्छौं ।’
उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा महिला, जनजाति, दलित, अपाङ्ग, आदिवासी लगायतको पछाडी परेको समुदाय र गरिबीको रेखामुनि रहेका अन्य समुदायलाई पनि आत्मनिर्भर बनाउन जोड दिएका छन ।
छवाछुत लगाएतका अन्धविश्वास अन्त्यका लागि गाउँपालिका कडा रुपमा प्रस्तुत हुने र विभेद अन्त्यका लागि सबै पक्षको सहयोगका लागि उनले अपिल गरे । खरको छानामुक्त गाउँपालिका कार्यक्रम अन्तर्गत ८० प्रतिशत घरधुरीमा टिनको छाना लगाईएको, विपद व्यवस्थापनमा अनुदानको कार्यक्रम सञ्चालन भएको दलितहरुको परम्परागत पेशालाई व्यवसायीकरण गरिएको उनले बताए ।
५ नं. प्रदेशै पहिलो पटक धुर्कोट गाउँपालिकाले कार्यालय भवन, सभाहल खेलमैदान निर्माण गरिसकेको छ । त्यसप्रति निःशुल्क जग्गादान गर्नेदेखि सहयोगदाताहरु सबैलाई धन्यवाद दिए । २०७८ लाई धुर्कोट भ्रमण वर्ष मनाउने घोषणालाई साकार पार्न समस्त धुर्कोटबासी सक्रिय हुन उनले आग्रह गरे ।
सामाजिक विकास तर्फ उनले प्राविधिक शिक्षालाई जोड दिएका छन् । धुर्कोट परमानन्द बहुमुखी क्याम्पससहित त्यहाँको शैक्षिक क्षेत्रको स्तरोन्नतिका लागि उनले विभिन्न कार्यक्रम अगाडि सारेका छन् । नो होम डेलिभरी कार्यक्रम अन्तर्गत धुर्कोटका स्वास्थ्य चौकीहरुमा चौबीसै घण्टा प्रसुति सेवा सञ्चालनमा ल्याईने घोषणा गरेका छन् ।
धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई संघीय सरकार मार्फत १५ शैयाको अस्पताल बनाईने उनले जानकारी दिए । पूर्वाधार विकास तर्फ सबै वडाहरुमा मोटरबाटो पुगेको र त्यसको स्तरोन्नतिका लागि गाउँपालिकाले बजेट छुट्याउने बताए । उनले दोस्रो चौमासिकसम्म ७० प्रतिशत काम नभए छुट्याएको रकम घटाईने र उपभोक्ता समिति खारेज गरिने गाउँपालिकाले नीति लिएको बताए ।
बन तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकासका कार्यक्रममा उनले नयाँपन दिने प्रयास गरेका छन् । कार्यक्रममा उपाध्यक्ष शिवबहादुर खत्री, निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण फुल्लेलले सहजीकरण गरेका थिए ।