नेपाली सेनाद्धारा विद्यार्थीलाई एनसिसी तालिम दिन सुरु
गुल्मी । नेपाली सेनाले देशैभरका विद्यार्थीहरुलाई एनसिसी तालिम दिन सुरु गरेको छ । यहि क्रममा गुल्मीमा रहेको गुरुगोरख गुल्म धागीथुम ब्यारेकले सदरमुकाम तम्घासमा आईतवारदेखि दुई विद्यालयका ७२ जना विद्यार्थीहरुलाई एनसिसी तालिम दिन सुरु गरेको हो ।
उसले तम्घासको आदर्श विद्या मन्दिर र गण्डकी बोर्डिङ्ग स्कुलका गरि कुल ७२ जनालाई उक्त तालिम दिन सुरु गरेको छ । प्रति विद्यालय १८ जना छात्रा र १८ जना छात्र छनौट गरि तालिम दिन सुरु गरिएको त्यस गुल्मका गुल्मपति सेनानी रविन्द्र महार्जनले जानकारी दिए । उनले नेपाली सेनाले राष्ट्रिय सेवा दल मार्फत २०२२ सालदेखि विद्यार्थीहरुलाई एनसिसी तालिम दिन सुरु गरेको बताउँदै यस अािर्थक बर्षमा देशभर ७ हजार ७ सय जना भन्दा बढि विद्यार्थीहरुलाई एनसिसी तालिम दिन लागेको जानकारी दिए ।
सभ्य, अुनशासित र असल नागरिक उत्पादन गर्नु यस तालिमको मुख्य उद्देश्य रहेको उनले बताए । ‘कक्षा ८ देखि कक्षा १० सम्मका विद्यार्थीलाई दिईने यो तालिम जुनियर डिभिजनको हो, उनीहरुलाई हतियार सम्वन्धि तालिम दिईन्न’– उनले भने–‘कक्षा ११ र १२ का विद्यार्थीलाई दिईने सिनियर डिभिजनको तालिममा हतियार चलाउन समेत सिकाईन्छ ।’ उनका अनुसार ७१ दिन सम्म नेपाली सेनाका चार जना प्रशिक्षकले उनिहरुको स्कुलमा पुगेर तालिम दिने छन् । बाँकी २१ दिनको तालिम दिलाउन देशैभरका एनसिसी रिग्रुटहरुलाई काठमाण्डौको हात्तिखोर स्थित राष्ट्रिय सेवा दलको तालिम केन्द्रमा पठाईने छ र त्यही नै पार्सिंङ आउट हुने छन् ।
सेनानी महर्जनका अनुसार एनसिसीमा छनौट हुनका लागि नेपाली सेनाले विभिन्न मापदण्ड बनाएको छ । ४ फिट १० ईन्च उचाई र त्यही अनुसारको शारपरक तौल हुनुपर्दछ । तालिममा सहभागी विद्यार्थीहरुलाई नेपाली सेनाले दैनिक आधा लिटर दुध, जेसी खाजा खुवाउने छ । काठमाण्डौमा २१ दिनसम्म आवास खानासहित सम्पुर्ण खर्च सेनाले नै ब्यहोर्ने छ । तालिममा सहभागी हुने विद्यार्थीहरुले आफुलाई सक्षम बनाउन, अनुशासित नागरिक हुन र पछि नेपाली सैनिक भई देशको सेवा गर्ने ईच्छा रहेकोले एनसिसी तालिम रोजेको प्रतिकृया दिए ।