मन्दिरमा दलितलाई विभेद गर्ने पुजारीले माफी मागे
गुल्मी । केही दिनअघि गुल्मीको धुर्कोट गाउँपालिका स्थित एक मन्दिरमा जातिय विभेद गर्ने पुजारीले माफी मागेका छन् । धुर्कोट गाउँपालिका–५, वस्तुमा रहेको कालिका मन्दिरका पुजारी झविन्द्र पोखरेलले आगामी दिनमा जातिय विभेद नगर्ने भन्दै असार ३ गते विहान वडा सदस्य टिकाराम बिश्वकर्माका ५ महिनाका नाती ग्रेशन बिश्वकर्मालाई अलग्गै टिका दिएर विभेद गरेको प्रति माफी मागेका हुन् ।
उक्त दिन नाती गे्रशनलाई लिएर सिता बिश्वकर्मा त्यस मन्दिरमा गएकी थिईन् । अरु बालबलिकालाई मन्दिर भित्र राखेर टिका लगाई दिएको र ग्रेशनलाई अलग्गै दुनामा टिका अक्षता दिएको प्रति सिता बिश्वकर्माले विरोध जनाउँदै घटना बाहिर आएको थियो ।
घटना बाहिर आएलगत्तै धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेल र उपप्रमुख शिवबहादुर खत्रीको ध्यानाकृष्ट भएको थियो । उनिहरु दुबै जनाले आईतवार दुबै पक्ष बिच छलफल गराई आगामी दिनमा कसैप्रति जातिय विभेद गरिए कानुन अनुसार कार्बाही गरिने चेतावनी दिईएको थियो ।
‘त्यस मन्दिरमा मात्र होईन धुर्कोटका कुनै पनि स्थानमा जातिय विभेद भएको पाईए हामी कानुन अनुसार कार्बाहीका लागि सिफारिस गर्ने छौं, –गाउँपालिका प्रमुख पोखरेलले भने–‘वस्तुको कालिका मन्दिरमा भएको जातिय विभेदका सम्वन्धमा हिजो दुबै पक्षलाई जुटाएर त्यस मन्दिरमा पुजा ब्यवस्थापन समितिले सबैलाई टिका लगाई दिने सहमति गराईएको छ ।’
वस्तुको जेष्ठनागरिक दिवा सेवा केन्द्रमा वडाध्यक्ष ढुण्डिराज भण्डारी, वडा सदस्य नरहरी भण्डारी, विष्णुमाया भण्डारी, सरस्वती बिक सुनार त्यस मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष लगायतको टोली र पीडित पक्ष बसेर अबदेखि व्यवस्थापन समितिले जुनसुकै बेला सबैलाई टिका लगाई दिने र अन्य जातिय विभेद हुने कुनै प्रकारको क्रियाकलाप नगरिने लिखित सहमति भएको वडा सदस्य टिकाराम बिश्वकर्माले जानकारी दिए ।